निषेधाज्ञामा महंगीले पनि समस्या : बाध्यताले दोब्बर-तेब्बर भाडा तिरेर रातिराति गाउँ फर्कँदै

कोरोना भाइरसको महामारीले संक्रमित र तिनका आफन्तलाई त बिचलित बनायो नै तर टाढा-टाढाबाट काठमाडौंमा आएर ज्याला मजदुरी गरिरहेका तथा विद्यार्थीहरुलाई पनि त्यसै छाडेन । जिल्ला प्रशासनले निषेधाज्ञा लागु गर्नुअघि काठमाडौं उपत्यकामा २ दिन मात्र उपत्यका छोड्ने समय दिएकाे थियाे ।

कोरोना भाइरस तीव्ररुपमा फैलिरहेको अवस्थामा २ दिनको समयमा लाखौँले हतारहतारमै उपत्यका छोडे । तर परीक्षा दिँदै गरेका र परीक्षाकाे तयारी गर्दै गरेका विद्यार्थीहरू, ज्याला-मजदुरी गर्दै काठमाडौंमा रहेका सर्वसाधारणहरू यतै अल्झिए । विद्यार्थीहरू तत्काल गरीक्षा हुने आशमा वा परीक्षाबारेकाे अन्याैल कायम भएर र ज्याला गर्नेहरु ठेकेदारले पैसा देला अनि घर जाउँला भनेर काठमाडौंमा नै रहनु परेको थियो ।

अधिकांशले निषेधाज्ञा लामाे नजाला भन्ने पनि साेचेका थिए । तर अहिले उनीहरुले सोचेजस्तो नभएपछि धमाधम काठमाडौं उपत्यका छोड्न बाध्य भएका छन् । सामान्यतया सार्वजनिक सवारी चल्न नपाएपछि उनीहरु राति-रातिको समय पारेर कलंकी तथा नयाँ बसपार्कसम्म हिँडेर र त्यहाँ सम्पर्कमार्फत पाइने सवारी साधनमा महंगाे भाडा तिरेर गाउँ फर्किरहेका हुन्छन् ।

शनिबार पनि साँझ पर्दै गर्दा आफ्नो गाउँ जान हतारहतार गर्दै धेरै मानिसहरू कलंकीमा जम्मा भइरहेका थिए । तर सवारी साधनहरू भने थिएनन् । उनीहरू भन्दै थिए- ‘हामीले फोन गरेर भनेका छौँ, आउँछ हाेला गाडी त ।’ गाडी चढ्न आउनेहरुको भीडले कोरोना महामारी नै छैन भन्ने भान हुन्थ्याे ।

भक्तपुरदेखि गाडी चढ्न कलंकी

एकजना युवक परिवारको खुसीका लागि पैसा कमाउन काठमाडौं आएको तर निषेधाज्ञाले समस्यामा परेकाे बताए थिए । काठमाडौं आएपछि मिस्त्री काम पाएको तर काम गरेको केही दिनमै निषेधाज्ञा भएकोले गाउँ फर्किन लागेको उनकाे भनाइ थियाे ।

उनी घर जानलाई भक्तपुरबाट धेरै कष्ट गरेर कलंकीसम्म गाडी चढ्न आइपुगेको बताउँदै थिए । यसअघि गाउँ जान्छु भन्दा साहुले पैसा नदिएकोले घर जान नपाएको उनले सुनाए ।

उनले भने, ‘कामको लागि काठमाडौं आएको थिएँ, घरको समस्याका कारण । तर साहुले कामको पैसा दिएन । सुरुमा लकडाउन खुलेपछि घर जाउ, अहिले पैसा छैन, बस्नखान व्यवस्था म गर्छु भनेर साहुले अल्झायाे । तर अहिले मसँग पैसा नहुँदा साहुले पनि अब घर जाउ, लकडाउन खुलेपछि म आईएमई गरिदिन्छु भनेर मलाई पठायो ।’

आफू बर्दिबास जाने बताइरहेका उनले बिहान ११ बजेबाटै गाडी पर्खेर कलंकीमा बसिरहेको सुनाए । त्यसयता एउटा बस पाएको तर बसले ३५ सय भाडा दिने भए लैजाने नभए नलाने भनेपछि आफू नगएको उनकाे भनाइ छ ।

उनले भने, ‘म बिहान ११ बजेबाट यहाँ आएर बसेको छु । गाडी आउँछ भन्ने आशा छ । अघि एउटा बस पाएको थिएँ, तर ३५ सय दिने भए मात्रै लैजान्छु भन्यो । ज्याला पनि नपाएकाे मैले कहाँ त्यत्रो दिन सक्छु ? अरुबेला खाना खाइवरी १२ सयमा जान्थ्यौँ ।’


सरकारले लकडाउन गरेपछि गाडीभाडा बढेको होला भन्दै अब त अर्को गाडी भेटिए जानै पर्ने बाध्यतामा पुगेको उनले बताए । दिनभर गाडी पर्खेर बस्दा पनि नपाएर निराश थिए उनी ।

अब कोठा जाउँ भन्दा पनि बस्ने-खाने ठाउँ नभएकोले गाडी पाउने आशामै रहेका उनी नभए रातितिर हिँडेरै घर जाने सुरमा रहेकाे सुनाए । उनले भने, ‘यताउता फोन गर्दा पनि गाडी जाँदैन भन्छन्, ट्रकले पनि लगेन । भोलिदेखि झन बन्द हुने कुरा सुनेको छु । बन्द भए हिँडेरै जान्छौँ ।’

सर्लाही जान लागेका एक वृद्ध कंलकीसम्म भाइले बाइकमा पुर्याइदिएको सुनाउँदै थिए । कलंकीसम्म आइपुग्न प्रहरीको कडाइले गर्दा घण्टौँ लागेको भन्दै उनले आफ्नी आमा बिरामी भएकोले सर्लाही जान लागेको सुनाए ।

तर भाइलाई फर्किंदा प्रहरीले कारबाही गरेछ । उनले कसैको जरूरी काम परेको खण्डमा प्रहरीले छोड्नुपर्ने, दु:ख दिन नहुने बताए ।

महंगीले पनि समस्या

त्यस्तै काठमाडौंमा अध्यायनका लागि बैतडीबाट आएका विद्याथीहरु पनि गाउँ फर्कन कलंकी पुगेका थिए । उनीहरुलाई उद्धारका लागि नगरपालिकाले नै बस पठाएको सुनाए । तर बस भने आइपुगेको थिएन । कोठामा बस्दाबस्दै निषेधाज्ञाको समय बढ्दै जानुको साथै खाने राशन सकिएकाे र भाउ बढ्दै गएपछि काठमाडौं छोड्न बाध्य भएको उनीहरुले बताए ।

उनले भने, ‘हामी यहाँ कोठा लिएर बसेको हौँ । हेर्दाहेर्दै सामानका भाउ पनि बढ्न थाल्यो । कोठामा बस्न गाह्रो भएर हामी काठमाडौं छोड्न बाध्य भयौँ । कले पनि बन्द भयो । कारोना पनि बढ्न थाल्यो । गाउँ जाँदा अलिक सुरक्षित होला कि भनेर जान लागेको ।’

त्यस्तै बारा जाने भन्दै गाडी चढ्न कलंकी पुगेका वृद्ध निकै हतासमा थिए । साथीभाइ मार्फत सम्पर्क गरेर बस भनेको तर अहिलेसम्म आइनपुगेको उनले बताए । ‘राति ८ बजेतिर अउछ होला,’ उनी भन्दै थिए, ‘आफू त काठको काम गर्ने परियाे । तर कामै बन्द भएकोले घर जान लागेकाे ।’

त्यस्तै डोल्पा जान लागेका विद्यार्थीहरुले पनि निषेधाज्ञापछि घर जानैपर्ने बाध्यताले हिडेको बताए । लकडाउन बढ्दै जाँदा आफूहरुलाई पछि आर्थिक रुपले गाह्रो हुन देखेपछि बेलैमा घर हिँड्न लागेको उनीहरुको भनाइ थियाे ।

जसमा एक बिद्यार्थीले भने, ‘निषेधाज्ञा पछि हामीलाई गाह्रो हुने अवस्था आयो । खानेकुरा पनि सकिँदै जाने अवस्था भयो र महंगी पनि बढ्दै गयाे । र, कोरोनाले धेरै मानिसहरुको ज्यान जान थालेपछि डर पनि लाग्न थाल्याे । कोठाभाडा र खानका लागि हामीलाई महिनाको १० देखि १२ हजारसम्म खर्च हुन्छ, घरबाट पैसा पठाउन पनि गाह्रो भएकोले पनि हामी बाध्य भयौँ ।’

भाडामा मनपरी

अर्का दुई विद्यार्थीहरु पनि आफ्नो घर जान कुरिरहेकाे भेटिए । उनीहरु जाजरकोट जान लागेको बताउँदै थिए । आफूहरु एसईईको तयारी गर्दै गरेको र एसईई परीक्षा अनिश्चित भएकोले घर हिँड्न लागेको उनीहरुले सुनाए ।

उनीहरुले भने, ‘हाम्रो परीक्षा कोरोना महामारीको कारणले गर्दा अनिश्चित भयो । पसलहरु खुलेनन्, हामीलाई खान-बस्न र लगाउन पनि समस्या भयो । त्यसैले हामी घर जान लागेका हौँ ।’

तर गाडी भाडामा मनपरी भएकाे गुनासाे उनीहरूकाे पनि थियाे । ‘सधैँ हामीले १४ सय तिरेर हिँड्ने गरेका थियाैँ । तर अहिले त ४ हजार भन्छन् । बल्ल बल्ल ३५ सयमा लगिदिने भनेकाे छ गाडीले ।’

त्यस्तै होटलमा काम गर्दै आएका अर्का एक युवाले महेन्द्रनगर जान लागेको सुनाए । कामहरु ठप्प भएकोले घर जान लागेको उनको भनाइ थियो । गत वर्षको जस्तै १० दिन, हप्तादिन गर्दै निषेधाज्ञा बढ्दै जाने भएकाे र तलबको पैसाले काठमाडौंमा बस्न नसक्ने भएकोले गाउँ हिँडेको उनले बताए ।

उनले भने, ‘यहाँ काम सबै ठप्प भयो । खान-लगाउन तलब थापेको पैसाले पुग्दैन । त्यसैले घर जाँदा सहज होला भनेर हिँडेको हुँ । तर १३ सयमा सधैँ जाने गरेकोमा अहिले ३ हजार भाडा मागिरहेछ गाडीले ।’

यसरी अभर परेकाे बेला गाउँ जानेहरूबाट गाडीले मनपरी पैसा उठाइरहेकाे उनीहरूकाे गुनासाे छ । ती युवकले केही साथीहरू ४-५ हजार सम्म तिरेर पनि महेन्द्रनगर गइसकेकाे सुनाए । साथै उसका केही साथी बैतडी र दार्चुला गएकाे र गाडीले ५ हजार भाडा असुलेकाे पनि सुनाए । गाडी अनुसार मनपरी गरेर सक्दाे पैसा उठाउने गरेकाे उनकाे भनाइ थियाे ।