माधव–झलनाथ पक्षका युवा नेताले दिए नयाँ दल दर्ताको निवेदन,चुनाव चिन्ह कलम !

नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षका विद्यार्थी नेताले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्व विद्यार्थी नेता जीवन राईले आयोगमा नेकपा (एकीकृत) नामको नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । उक्त निवेदनका साथ चुनाव चिन्ह ‘कलम’ राखिएको छ ।

पछिल्लाे समय उनी नेकपा एमालेकाे माधव-झलनाथ समूहमा थिए । तर उनले स्वन्त्र किसिमबाट नै दल दर्ताकाे निवेदन दिएकाे बताएका छन् । दर्ताका लागि आयोगले ४५ दिनकाे समय दिएकाे उनकाे भनाइ छ ।

संखुवासभाका राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता हुन् । उनले शुक्रबार (७ गते) दल दर्ताका लागि आयोगमा निवेदन दिएको बताएका छन् । दर्ता प्रक्रियामा रहेको र अहिले सबै कुरा खोल्न नमिल्ने उनको भनाइ छ ।

उक्त प्रस्तावित दलमा २५ सदस्यीय केन्द्रीय कमिटीको नाम आयोगमा बुझाइएको छ । जसअनुसार दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा बिनोद कुमार खुलाल तथा सचिवमा ऐन विक्रम कुँवर रहेका छन् । त्यस्तै सुशीला खनाल कोषाध्यक्ष रहेकी छन् ।