पाँचखालमा अलपत्र परेका ७ वटा हेलिकप्टर यात्रुलाई स्थानीयले खुवाए खाना

काभ्रे। माैसम खराबीका कारण काभ्रेकाे पाँचखालमा आकस्मिक अवतरण गराइएकाे ७ वटा हेलिकप्टरमा रहेका यात्रुलाई स्थानीयले खाना खुवाएका छन् ।

लुक्लाबाट काठमाण्डाै आएकाे मनाङ, सिम्रिक र कैलाश एअरको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक रुपमा काभ्रेकाे पाँचखालस्थित धानबारीमा अवतरण गर्नु परेकाे थियाे ।

धानबारीमा अवतरण गर्नु पर्दा अलपत्र परेका यात्रुहरुलाई पाँचखाल नगरपालिका-२ तिनकुनेका महेश आचार्य र हर्सेका साधुराम सापकोटाले खानकाे व्यवस्था गरेकाे वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिए ।

मौसममा अझै सुधार नआएकाले हेलिकप्टर अझै उड्न सकेकाे छैन । सिम्रिक एअरको हेलिकप्टर उडाउन खोजे पनी नसकेपछि फेरि पाँचखालकै ढुङ्गानाबेसीमा अवतरण भएकाे छ ।

मौसम सुधार नभए नगरपालिकाले गाडीको व्यवस्था गरी पर्यटकलाई काठमाण्डाै पठाउने तयारी भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिए ।