‘अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन दुतावास प्रयत्नशील छ’ – राजदूत डा. खतिवडा

वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्।
उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले आग्रह गरेको पनि बताए।

नेपालीहरुको नेतृत्वमा रहेका दुई अमेरिकी संस्थाहरु ब्लड डोनर्स अफ अमेरिका(बीडीए) र सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान) को तेस्रो संयुक्त सम्मेलनको भर्चुअल माध्यमबाट आज उद्घाटन गर्दै उनले नेपालको गम्भीर स्वास्थ्य संकटको अवस्थामा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोगका लागि अमेरिकी सरकारसंग आग्रह गरिएको पनि उनले बताएका छन्।

उनले अमेरिकी सरकार, यहाँका गैरसरकारी संघ संस्थाहरु र नेपाली समुदायसहित विश्व समुदायलाई समेत नेपालको स्वास्थ्य संकटमा सहयोगका लागि आह्वान गरिएको बताए ।