मध्यावधि चुनावका लागि ९ अर्ब रुपैयाँ आवश्यक पर्ने

काठमाडौं– संसद विघटन गरी गरी शुक्रबार राति घोषणा भएअनुसार मध्यावधि चुनाव सम्पन्न गर्न ९ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने भएको छ। निर्वाचन आयोगले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा खर्च आवश्यक पर्ने देखिएको हो।

निर्वाचन आयोगका प्रमुख आयुक्त आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा करिव ९ अर्ब रुपैयाँ बराबर खर्च हुनसक्ने बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले संसद विघटन भइसकेपछि घोषणा भएको निर्वाचन सम्पन्न गर्दा ९ अर्ब रुपैयाँ बराबर बजेट आवश्यक पर्ने बताएका हुन्। सरकारले निर्वाचन त घोषणा गर्‍यो, तर यो महामारीमा आर्थिक र जनस्वास्थ्यका हिसावले सम्भव छ त ? भन्ने प्रश्नमा प्रमुख आयुक्त थपलियाले आफूहरुले सम्भव छैन भनेर भन्न नमिल्ने बताए। यसबीचमा निर्वाचनका लागि तयारी गर्न आयोगलाई प्रशस्त समय रहेको पनि थपलियाले बताए।

‘आयोगले तयारी गरेकै छ। अबको निर्वाचनमा खर्च अलि धेरै लाग्छ’, उनले भने ‘हामी अब बिस्तारै खर्चदेखि सबै कुराको अनुमान गर्छौं अनि सरकारलाई पठाउँछौं।’ कोरोना महामारीका बीच कसरी निर्वाचन गर्ने भनेर रणनीति बनाउँदै चुनावको तयारी अगाडि बढाइने थपलियाले बताए। ‘केही दिन अघि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेकाले केही अनुभव भएको छ ’, उनले भने ‘अलि टाढा बसेर स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गराउने तयारी गर्छौं।’

कोरोना महामारीकै बीचमा विभिन्न देशमा निर्वाचन सम्पन्न भएकाले त्यहाँको अनुभवहरु पनि अध्ययन गर्ने उनले बताए। आयोगलाई ६ महिना समय भएकाले यो पर्याप्त हुने भएकाले तयारी पनि त्यही अनुरुप हुने थपलियाको भनाइ छ। शुक्रबार मध्यराति संसद विघटनको सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत मध्यावधि चुनावको घोषणा गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले निर्वाचन घोषणा भयो, तपाईंलाई के–के आवश्यक पर्छ, भोलिदेखि नै काम थाल्नुस् भनेर निर्देशन दिनुभयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने। संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनका लागि प्रस्ताव आह्वान गरेकी राष्ट्रपति भण्डारीले शेरबहादुर देउवा र केपी शर्मा ओलीको प्रस्ताब खारेज गरेकी थिइन्। राष्ट्रपतिले देउवा र ओलीको प्रस्ताव खारेज गरेपछि शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते तोकिएको छ।