जन्मदिनमा आमालाई भुलेनन् मोदीले, आमासँग आशिर्वाद लिएर सँगै खाए खाना

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा आमा हीरा बेनसँग आशिर्वाद लिएका छन् । मंगलबार दिउँसो अढाई बजे गुजरातको गान्धीनगरस्थित निवास पुगेर प्रधानमन्त्री मोदीले आमासँग आशिर्वाद लिएका हुन्।

प्रधानमन्त्री मोदीले घर पुगेर आमाका साथ दिउँसोको खाना पनि खाएका छन् । उनले झण्डै आधा घण्टासम्म आमाका साथ बिताएका थिए । त्यसअघि उनले सरदार सरोवर ड्यामको भ्रमण र केवडियामा र्यालीलाई सम्बोधन गरेका थिए। यसअघि लोकसभा चुनावमा लगातार दोस्रो पटक बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले शपथ ग्रहणअघि आमासँग आशिर्वाद लिएका थिए ।

प्रधानमन्त्री मोदी सोमबार राति गृहराज्य गुजरात पुगेका थिए। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी मंगलबार बिहान आमा हीरा बेनसँगको भेट तय गरिएको थियो । त्यसपछि मात्रै मोदी सरदार सरोवर ड्यामको भ्रमण गर्ने र र्यालीलाई सम्बोधन गर्ने भनिएको थियो । तर पछि प्रधानमन्त्री मोदीको कार्यक्रम परिवर्तन भएको थियो ।

आमालाई भेट्न प्रधानमन्त्री मोदी गान्धीनगर पुग्दा उनको निवास बाहिर स्थानीयको भीड लागेको थियो । उनी पुग्दा भीडले खुशीयालीमा नारावाजी गरेका थिए । आमासँगको भेटपछि घरमा जमा भएका स्थानीयसँग सेल्फी खिचेर उनी नयाँदिल्ली फर्किएका छन् ।