राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने माओवादीको निर्णय

नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको विरुद्ध सबैसँग एकतावद्ध भएर राजनीतिक र कानुनी संघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसको विरुद्धमा अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकतावद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडि बढाउने निर्णय गरको नेता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले आजै नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले एकताबद्ध भएर अगाडि बढ्ने निष्कर्षसाथ संयुक्त वक्तव्य निकालेको प्रति स्वागत पनि गरेको नेता श्रेष्ठले जानकारी दिए ।

उनले भने– ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जो असंवैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदम चालियो । त्यसको सन्दर्भमा सबै संविधान, लोकतन्त्र, अग्रगमन र राष्ट्रिय स्वाधिनताका पक्षधर सबै शक्तिहरु सँग एकतावद्ध भएर राजनीतिक र कानुनी सबै प्रकारको संघर्ष अगाडी बढाउने निर्णय गरेको छ ।’