चुनावमा ओलीविरुद्ध प्रचण्ड-नेपाल गठबन्धन बन्नसक्ने, कस्तो नतिजा आउला ?

सतरञ्जको पासाको शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको अवधिभर देशमा आफ्नो एकछत्र प्रभाव बनाइराखे । देशको शक्तिशाली निकायमा हालीमुहाली बने । यतिसम्मकी प्रतिनिधि सभा विघटन गराएर चुनावी सरकारको प्रधानमन्त्री बन्न पनि सफल भए । तर, ब्यालेटको राजनीतिमा ओ लीलाई सजिलो भने छैन ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बनेको थियो । एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए ।

सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ८० जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । दुवै दलले एक-अर्काको उम्मेदवारलाई साथ दिएका थिए ।

चुनावी गठबन्धनले माओवादीलाई भन्दा एमालेलाई फाइदा पुगेको तथ्यांकले देखाउँछ । २०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।

माओवादीसँगको गठबन्धनले ८० स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले कात्तिक र मंसिरमा चुनाव भएमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना लगभग समाप्त भइसकेको छ । अर्कोतर्फ, एमालेको माधव नेपाल पक्ष अलग्गिने निश्चितप्रायः भइसकेको छ ।

एमाले माओवादीसँग गठबन्धन गरेर हासिल गरेको चुनावी उपलब्धि आफै फुट्दा नतिजा विपक्षमा जान्छ भन्ने पुष्टि बादलको राष्ट्रिय सभा उपनिर्वाचनमा हारले गरिसकेको छ । माधव नेपाल समूहकै डा. खिमलाल देवकोटाले बादललाई पराजित गर्न सके । ब्यालेटको राजनीति मतदातासँग पुगेर जित्नुपर्ने हुन्छ । न कि देशको शक्तिशाली निकायमा प्रभाव जमाएर जित्न सकिन्छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ८० मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।

यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै अघिल्लो चुनावमा जित हासिल भएको ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । अघिल्लो चुनावमा जित हासिल भएको बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।

१० हजारभन्दा मतान्तरले जीत हासिल गर्नेमा माधव नेपाल पक्षका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या उल्लेख्य छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, सोमनाथ पाण्डे, विरोध खतिवडा, मेटमणी चौधरी, कृष्णलाल श्रेष्ठ, पवित्रा निरौलालगायत छन् । यो तथ्यले पनि ओलीलाई चुनावमा करिश्मा देखाउन सजिलो छैन ।

परीक्षण राष्ट्रिय सभा उपनिर्वाचनमा भइसकेको छ । जसमा माधव नेपालका लागि सांसद देखि जनप्रतिनिधिको पद नै दाउमा राखेर मतदान गर्नेहरु खुले । बागमती प्रदेशमा मात्र १४ सांसदले बादलविरुद्ध मतदान गरेर माधव नेपाललाई साथ दिने सन्देश दिए । एमालेको तल्लो निकायमा नेपालको बलियो प्रभाव रहेको यसले पनि पुष्टि गरेको छ । विशेषगरी बागमती प्रदेश र तराईका जिल्लाहरुमा नेपालको प्रभाव रहेको छ ।

एमालेसँग गठबन्धन नहुँदा माओवादी केन्द्रलाई पनि ठूलै झट्का लाग्न सक्छ । २०७४ सालको निर्वाचनमा माओवादीका ५९ प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३६ जनाले जीत हासिल गरेका थिए । जसमध्ये १२ जनाको १० हजारभन्दा बढी मतान्तर देखिएको छ ।

९ जनाले ७ हजार, ५ जनाले ५ हजार, ६ जनाले ३ हजार, २ जनाले २ हजार र १ जनाले ५ सय मतान्तरले जीत हासिल गरेका थिए । माओवादीलाई गठबन्धन बनाई जाँदा अघिल्लो चुनावमा जित हासिल भएकोमध्ये कम्तिमा २० सिटमा जीत कठिन पर्न सक्छ ।

तर, प्रचण्डले माधव नेपाल समूहसँग गठबन्धन बनाएर जाने सम्भावना बलियो बनेको छ । माधव नेपाल समूह प्रचण्डसँग गठबन्धनमा जाँदा चुनावी नतिजा फरक पर्न सक्छ । यसको प्रत्यक्ष नोक्शानी एमालेको ओली समूहलाई पर्ने निश्चितप्रायः छ । ब्यालेटको राजनीतिमा ओलीलाई विगतमा १० हजारभन्दा बढी मतान्तरले जितेको क्षेत्रमा पनि नोक्शानी पर्न सक्छ ।

नेकपा विभाजन हुँदै एमालेभित्रको सम्भावित विभाजनबाट प्रत्यक्ष लाभ नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले लिन सक्छ । तर, काँग्रेससँग माओवादी र एमालेको माधव नेपाल समूहको अप्रत्यक्ष गठबन्धनको सम्भावना पनि छ । जसपा भने विभाजनको संघारमा भएकाले मधेशको चुनावी नतिजा निकै फरक हुन सक्ने देखिन्छ ।

समानुपातिकतर्फ पनि नेकपाको फुटको असर पर्न सक्छ । त्यसमाथि एमाले फुटेमा ओलीले सोचेभन्दा परिणाम निकै फरक आउन सक्छ । काँग्रेसलाई विगतमा भन्दा केही मत वृद्धि गर्ने अवसर बन्न सक्छ ।