जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा सीमाङ्कन गर्ने प्रक्रिया थालनी

जनकपुर। पुरातत्व विभागद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ । सोअन्तर्गत विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ ।

सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ । युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिननसकेको बताइएको छ । प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताएका छन् ।

भुलवस् जानकी मन्दिरको परिसर केही पूर्वाधार निर्माणको कार्यको थालनी गरिएको बताउँदै मन्त्रालयले विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा बाधा पुर्याउने कुनै पनि कार्य नगर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताएका छन् ।