संसद विघटनको पक्षमा उभियो जसपाको ठाकुर–महतो पक्ष

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रतिनिधि सभा विघटनको पक्षमा उभिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति गरेको संसद विघटन संविधानसम्मत भएको पनि ठाकुर–महतो पक्षका नेताको भनाइ छ। ठाकुर–महतो पक्षका नेता लक्ष्मणलाल कर्णले सरकारले संसद विघटन गर्नु संविधानसम्मत भएको बताए। संसद्ले सरकार दिन नसक्ने, विजनेश समेत दिन नसक्ने अवस्थामा विघटन गर्नु उचित नै भएको कर्णको भनाइ छ।

‘यो संसदले न सरकार दिन सक्यो, न कुनै संसदको विजनेस दिन सक्यो। यस्तो अवस्थामा संसदलाई राख्ने कुनै औचित्य नै देखिँदैन। संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनेन भने उपधारा ७ ले विघटन बाहेक अन्य विकल्प दिएको छैन’, कर्णले भने, ‘त्यस कारण मन्त्रिपरिषको निर्णयानुसार जुन प्रकारले संसद विघटन भएको छ, त्यो संविधान सम्मत छ।’

सरकार बनाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारी, गैरसंवैधानिक भन्नु गलत भएको पनि कर्णले टिप्पणी गरे। आफूहरुका कारण प्रतिनिधि सभा विघटन नभएको दाबी गर्दै कर्णले सरकार बनाउन मत दिनैपर्छ भन्ने बाध्यता नभएको जिकिर गरे। ‘सरकार बनेन भने हामीले मत दिनै पर्छ भन्ने छ र?

हामीले कसैलाई मत दिनुपर्ने के बाध्यता छ? त्यसैले सबैले प्रयास गरे सरकार बन्न सकेन’, कर्णले भने,‘सरकारै बन्न नसकेपछि त्यो बाहेक अन्य विकल्प नै थिएन।’ प्रतिनिधि सभा विघटन हुँदा खुसी र दुखी दुबै नभएको प्रतिक्रिया दिँदै कर्णले ताजा जनादेशमा गएर नयाँ संसद बनाउनुपर्ने बताए।