साधारण रोयल साइकल चढेरै मधेशी युवा पुगे सगरमाथा बेसक्याम्प

काठमाडौ। ३१ वर्षीय रञ्जित शाहले जनकपुरबाट सुरु गरेको सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ दिनमै पूरा गरेका छन् । गियर र डिस ब्रेक नभएको साधारण रोयल साइकल चढेर रञ्जित शाहले सगरमाथा बेस क्याम्पसम्मको यात्रा सफलतापूर्वक पुरा गरेका छन् । भदौ ९ गते यात्रामा निस्किनुभन्दा पहिले उनी जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए ।

त्यो थाहा पाएर जनकपुरका केही युवाहरू उनलाई बिदाइ गर्न मन्दिर परिसरमा भेला भए । दुई चारजना युवाले माला लगाएर उनलाई विश्वको सबभन्दा अग्लो सगरमाथाको बेस क्याम्पका लागि बिदाइ गरे । जनकपुर प्रदेश २ को अस्थायी राजधानी र उपमहानगरपालिका पनि हो । तर रञ्जितले साहसिक यात्रामा निस्किँदै गर्दा त्यहाँका दुईवटै सरकार बेखबर थिए ।

औपचारिकताका लागि प्रदेश तथा स्थानीय सरकारले चाहिने पत्रहरू भने बनाइदिएको थियो । तर प्रदेश तथा स्थानीय सरकारले केही गरेन भन्ने उनलाई कुनै दुःख नभएको र आफ्नो काम गर्दै जानुपर्ने उनको भनाइ छ । काम गरेर नै अरूलाई सोच्न बाध्य बनाउने उनको सोच छ । आफूलाई कसैले केही गरिदियोस् भनेर अभियान सुरु नगरेको उनको भनाइ छ ।