बादल हराउन भूमिका खेल्ने एमालेका १४ सांसदमाथि कारवाही शुरु (सूचीसहित)

नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ ।

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले बताए ।

लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उनले बताए ।

बैठकले प्रदेश सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै त्यसका लागि धन्यवाद दिएको र अब कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित हुन आग्रह गरिएको उनले बताए ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।

राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।

बैठकले प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुम कुमार कार्की ,मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको निरौलाले जानकारी दिनुभयो ।