लकडाउनले कञ्चनजङ्घाको सौन्दर्य हेरिदिने कोही भएन

अटल स्वरुपमा चाँदीझँै टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने ।यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाज ।

साँच्चिकै सुन्दर छ कञ्चनजङ्घा क्षेत्र । यही सौन्दर्यको आनन्द लिन आउँछन् वर्षेनी हजारौँ विदेशी र स्वदेशी पर्यटक ।कञ्चनजङ्घाको यो सौन्दर्य हेर्न विगतका वर्षहरुमा जस्तै यस वर्ष पर्यटक आउन पाएका छैनन् । यहाँका पदर्मागहरुमा लामबद्ध भएर हिँड्ने गरेका उनीहरुलाई पनि विश्वमा बढ्दो कोरोना महाव्याधिले अबरुद्ध गरेको छ ।

यहाँका स्थानीय भन्छन्– संसारका मानिस आउने यहाँ विदेशीको अनुहार देख्न नपाएको वर्षदिन भन्दा धेरै भयो । हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी हिँड्ने गरेका यहाँका पदमार्गहरु अहिले खाली छन् । जसका कारण उनीहरुको सेवाका लागि खोलिएका सानातिना व्यवसाय गर्ने व्यवसायी पनि बेरोजगार भएका छन् ।

कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरीपूर्ण छ । पदमार्गको दायाँ—बायाँ रङ्गीविरङ्गी फूलहरु फुलेका छन् । यस क्षेत्रभित्र रहेका थरीथरीका चराचुरुङ्गीका आवाज र उनीहरुका गतिले वातावरण नै सङ्गीतमय बनाइदिन्छन् । यो सबै वातावरणले यहाँ पुगने जोकोहीलाई पनि स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

पदमार्गका दायाँ बायाँ बग्ने झरनाहरुको आकर्षण त झन् छँदैछ ।यो सबै सौन्दर्य हेरिदिने कोही छैनन् यतिखेर यहाँ । गत वर्ष चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण गाउँ—गाउँमा फैलिन थालेपछि नेपालभर बन्दाबन्दी (लकडाउन) भयो । बन्दाबन्दीको त्यही समयपछि यहाँ विदेशी र स्वदेशी पर्यटक आउन सकेका छैनन् ।