संसद विघटनविरुद्ध फेरि कानुनी र राजनीतिक लडाइ लड्छौँ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘हाम्रो संसदीय दलले यसमाथि अझै पनि संघर्ष गर्नुपर्छ । हाम्रो नेतृत्वले कानुनीदेखि लिएर हरेक लडाइ लड्नुपर्छ । देश र संविधानलाई जोगाउने काममा अग्रसर हुनुपर्छ ।’

राष्ट्रपतिको कदमविरुद्ध कानुनी र राजनीतिक लडाइको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनको भनाइ छ ।

‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा विपक्षी पार्टीको पनि नेता हो,’ पौडेलले भने ‘हिजो पनि उहाँकै नेतृत्वमा सरकार बनाउने भनेर दाबी पेस गरिएको थियो । अब उहाँले कानुनी र राजनीतिक लडाइको नेतृत्व गर्नुपर्छ ।’

यद्यपि नेता पौडेलले काँग्रेस जनताको बीच (निर्वाचन)मा जाने कुराबाट कहिले पनि भाग्ने बनाए । असल मनसायका साथ संसद विघटन नगरिएकाले गम्भीर हुनुपर्ने उनले बताए ।

‘यो असल मनसायका साथ चालिएको कदम होइन । यो संविधान फाल्नका लागि संसद भंग गरिएको छ । यतातिर गम्भीर हुनुपर्छ । निर्वाचन तपसिलको कुरा हो,’ पौडेलले भने । संसद विघटनपछिको रणनीति बनाउन सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले आफै विपक्षी दलका नेताहरुसँग पनि छलफल गर्ने तयारी छ ।