अस्पतालमा संक्रमितको चाप घट्यो

केही दिनयता काठमाडौं उपत्यकाका अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ । कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दा र संक्रमितमा जटिल समस्या देखिंदा काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा बेड भरिनुका साथै प्रांगणमा राखेर समेत उपचार गरिएको थियो । तर पछिल्ला केही दिनमा बिरामीको चाप घटेको अस्पतालका अधिकारीहरु बताउँछन् ।

उपचार गराउन आउने संक्रमितको चाप केही कम भए पनि आईसीयू, भेन्टिलेटरसहितको बेड भने भरिभराउ रहेको उनीहरुको भनाइ छ । अघिल्लो हप्तासम्म टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पालजस्ता ठूला सरकारी अस्पतालमा अस्पतालबाहिर, बरण्डामा कुर्ची, बेञ्च तथा भुइँमा समेत राखेर संक्रमितको उपचार गरेको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई दिनयता संक्रमितको चाप कम भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा.सन्तकुमार दासले बताए । उनले भने ‘इमर्जेन्सीमा मात्रै पालो कुरेर बस्ने ४० देखि ५० जना हुन्थे । हिजो १३ जना भए आज जम्मा ४ जना छन् ।’ अस्पतालमा बिरामीको चाप हेर्दा हुरी जस्तै एक्कासी आएर अब कम हुँदै जान थालेको हो कि भन्ने अनुभव भइरहेको डा.दासले सुनाए ।

वीर अस्पतालमा केही दिन अघिसम्म दैनिक कम्तीमा १५ जना बेड भन्दा बाहिर कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । गएको दुईदिन यतादेखि त्यहाँ पनि इमर्जेन्सीमा चाप घटेको छ । हिजोआज दुईदेखि तीन जनासम्म संक्रमित बेडका लागि पालो कुरिरहेका हुन्छन् ।
बेड, अक्सिजन, आईसीयूका लागि आउने फोन पनि ८० प्रतिशत कम भएको दासले बताए । अहिले संक्रमित केही मात्रामा कम हुँदै जानुमा निषेधाज्ञाको कारण चेन ब्रेक भएको हुन सक्ने डा. दासको अनुमान छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ गतेदेखि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

निषेधाज्ञा जारी भएको ३ हप्ता पुगिसक्दा संक्रमितको संख्या भने केही घटेको छ । वैशाख २४ गते भेटिएका ४१९८ जना संक्रमित नै उपत्यकामा २४ घण्टाभित्र देखिएको संक्रमण संख्याको उच्च विन्दु हो । शुक्रबार उपत्यकामा २,४११ जना संक्रमित भेटिएका छन् ।

टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोला बिरामीको चाप कम भएको तर अस्पतालको बेड खाली नभएको बताउँछन् । ‘सिकिस्त बिरामी उपचारका लागि आउने क्रम पनि उस्तै छ,’ उनले भने, ‘तर केही दिनअघिको जस्तो संक्रमितको चापका कारण भुइँंमा, कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था कम भएको छ ।’

उनले अघि भने ‘केही दिनयता हुल जस्तै आउने क्रम केही कम भएको छ । नियमित र सिकिस्त बिरामीहरु आउने क्रम भने उस्तै छ ।’ डा.बास्तोलाका अनुसार अहिले अस्पतालमा बेडको पालो कुरेर बस्ने संक्रमितको संख्या घट्नुमा निषेधाज्ञाको पनि प्रभाव हुनसक्छ ।

वीर अस्पतालमा केही दिन अघिसम्म दैनिक कम्तीमा १५ जना बेड भन्दा बाहिर कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । गएको दुईदिन यतादेखि त्यहाँ पनि इमर्जेन्सीमा चाप घटेको छ ।

हिजोआज दुईदेखि तीन जनासम्म संक्रमित बेडका लागि पालो कुरिरहेका हुन्छन् । सम्पर्क व्यक्ति डा. अच्युत कार्की भन्छन् ‘इमर्जेन्सीमा धेरै कम भएको छ । बेडको प्रतीक्षामा दुई अथवा तीन जना मात्रै हुनुहुन्छ । काम गर्न धेरै सहज भएको छ ।’

अहिले अस्पतालमा संक्रमितको संख्या कम हुनुको कारण निजी अस्पतालमा निशुल्क उपचार हुनु र अक्सिजन सरकारले उपलब्ध गराउनुको कारण हुनसक्ने उनको बुझाइ छ । डा. कार्की भन्छन् ‘संक्रमितको संख्या कम भएर भन्दा पनि निजीतिर बाँडिएर हुनसक्छ । किनभने अहिले पनि संक्रमण दर र मृ’त्युदर त उस्तै छ नि त ।’