‘देउवालाई प्रधानमन्त्री बनाउन एमाले सांसदले गरेका हस्ताक्षर दलको निर्णय विपरीत हो भनेर राष्ट्रपतिलाई पत्र पठाएका छौं’ – ज्ञवाली

नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका सांसदहरूले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरितको भएको जानकारी गराइएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेर राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर छ । उक्त घटनापछि पार्टीले राष्ट्रपति कार्यालयलाई पत्र पठाएर त्यस्ता कार्य पार्टी विपरीत भएको जानकारी गराएको ज्ञवालीले बताए। ‘उहाँहरूलाई कारबाही गरिसकिएको छैन।

उहाँहरूले हस्ताक्षर सच्याउनु भएन भने कारबाही त हुने भयो। आफ्नो सरकार ढालेर विपक्षी दललाई सहयोग गर्ने कुरा त कदापी स्वीकार्य हुँदैन,’ ज्ञवालीले भने, ‘त्यसरी आएको हस्ताक्षर हाम्रो दलको निर्णय विपरीत हो भनेर पत्र पठाएका छौं। त्यस्ता विषयहरू कारबाहीका विषय हुन् भनेका छौं।’ कारबाही गर्ने कुरा पार्टीको आन्तरिक भए पनि राष्ट्रपतिलाई जानकारी गराइएको ज्ञवालीको भनाइ छ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीलाई दलकै समर्थन चाहिने भएकाले त्यसरी सांसदहरूले दिएको हस्ताक्षरको अर्थ नहुने ज्ञवालीको भनाइ छ। सांसद प्रधानमन्त्रीको उम्मेदवार हुन सक्ने तर राष्ट्रपतिले नियुक्त गरेपछि दलहरूले नै संसद्मा विश्साको मत दिनुपर्ने उनले बताए। देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका सांसदहरूलाई के कारबाही हुने भन्नेबारे अहिले नै तय भइनसकेको ज्ञवालीले बताए।

‘कारबाहीको विषयमा निष्कर्षमा पुगिसकेका छैनौं। थुप्रैले हाम्रो हस्ताक्षर दुरुपयोग भयो भनेर वक्तव्य दिइरहनुभएको छ। पहिला ‘क्लियारिटी’ होस्, त्यसपछि कारबाही अघि बढ्छ,’ उनले भने।पार्टीले कुनै सांसदलाई कारबाही गर्न नचाहेको तर कम्युनिस्ट पार्टीमा फ्लोर क्रसदेखि पार्टीको आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षीसँग मिलेका घटनाले गम्भीर बनाएको उनको भनाइ थियो।

केही सांसदहरूले प्रतिनिधिसभा बचाउनका लागि हस्ताक्षर गरेको तर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन होइन भनेर प्रष्टिकरण दिइरहेको ज्ञवालीले बताए।