विपक्षी गठबन्धनका नेता भन्छन्–राष्ट्रपतिले षड्यन्त्र गर्ने छाँट देखाउनुभएको छ

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति कार्यालय पुगेका विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रपतिबाट षड्यन्त्र हुन सक्ने बताएका छन् ।

१४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पनि दाबी आएको बताएकी थिइन् ।

तर, विपक्षी दलका नेताहरुले ओलीले दाबी गर्न नमिल्ने भन्दै संविधानअनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले ओलीले पनि बहुमत पुर्‍याएर आएको बताएपछि विपक्षी दलका नेताहरुले आशंका गरेका छन् ।

त्यहाँ सहभागि एक नेताले भने, ‘हामीले संविधानत ७६(५) अनुसार बहुमत सांसदको हस्ताक्षर बुझाएका छौं । तर, राष्ट्रपतिले षड्यन्त्र नै गर्ने छाँट देखाउनु भएको छ ।’

बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरु राष्ट्रपति कार्यालय पुग्नुअघि प्रधानमन्त्री ओली पनि राष्ट्रपति कार्यालय पुगेका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले एमालेको १२१ र ३२ सांसद रहेको जसपाको समर्थन आफूलाई रहेको पत्र बुझाएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसपछि मात्रै राष्ट्रपतिले विपक्षी दलहरुको दाबी पेस गरिएको पत्र बुझेकी थिइन् ।