यी ४ नेताले गरे देउवालाई समर्थन नगर्ने घोषणा

काठमाडौं – एमाले नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न हस्ताक्षर नगरेको बताएका छन् ।

विवाद समाधान गर्न गठित एमाले कार्यदलको शुक्रबारको बैठकमा उनीहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाए । पाण्डे, भुसाल र विष्ट विवाद समाधान कार्यदल सदस्य छन् ।

सिंहदरबारमा बसेको कार्यदल बैठकमा उनीहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेताविरुद्ध आफूहरुले हस्ताक्षर नगरेको बताएपछि माधव नेपाल समूहमै विवाद भयो ।

नेपाल समूहबाट वार्ता टोलीको संयोजन गरेका उपाध्यक्ष भीम रावलले भने प्रधानमन्त्रीले संविधान छलेर फेरि संसद् विघटनको प्रपञ्च रचेकाले संसद बचाउन बाध्य भएर देउवालाई समर्थन गर्नुपरेको प्रष्टीकरण दिए ।

नेपाल समूहकै दुईथरी कुरा आएपछि फेरि बस्ने गरी बैठक स्थगित भएको ओली पक्षका वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै एमालेको नेपाल पक्षका २७ सहित १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष बुझाएका थिए ।