चार चिलिम गाँजा उडाउँथे राजा पृथ्वीवीरविक्रम

राममणि आदी : विक्रम संवत् १९६८ को सुरुवातको कुरा हो । श्री ५ अधिराज पृथ्वीवीरविक्रम शाहको गाथमा अलिअलि आराम नभएको केही समय भएको थियो । तर डाक्टरहरूले अहिले आएर रोगको निदान गरेका थिए ।

श्री ५ अधिराजलाई जलोदरको रोगले आक्रान्त गर्न लागेको रहेछ । त्यो समयमा त्यति डरलाग्दो नभए तापनि रोगको यो नाउँ विशेषतः भयावह नै मानिन्थ्यो । डाक्टरहरूले अब परहेज गराउन लागे ।

श्री ५ कहिलेकाहीँ वाइन ज्युनार गरिबक्सन्थ्यो । यो कुरा डाक्टरहरूले रोकेर यसको बदला गाँजा ज्युनार गर्नहुन्छ भनेकाले श्री ५ बाट बेलुका ५ बजेपछि गाँजा ज्युनार गर्न लागिबक्सेको थियो ।

गाँजा पिउन एक मण्डली नभै रस आउँदैन भनी अधिराजले त्यो मण्डलीमा श्री ५ अधिराज, श्री ५ काहिँला साहेबज्यू, ओस्ताद नानक, ओस्ताद कुञ्जविहारी, परवाजी बलदेव, लेफ्टेन टेकबहादुर, बैठके अष्टमान, म राममणि यतिलाई सम्मिलित गरी बक्सन्थ्यो । हुकुमअनुसार सबैले गाँजा धिपिक्क ज्वाला नझिकी हुँदैन थियो । स्वयं प्रभुबाट पनि ज्वाला बाली बक्सन्थ्यो । ३–४ चिलिमसम्म गाँजा उड्दथे ।

अधिराजको हुकुम टाल्ने कुरै थिएन । त्यसमाथि पनि अधिराजलाई त्यस्तो रोग लाग्यो भन्ने सुनेको थिएँ । उहाँमा कसरी मानसिक सन्तोष ल्याउन सकिन्छ भन्ने आन्तरिक इच्छा थियो ।

उहाँको दिसा, पिसाब, खाना, सुकला आदिको रिपोर्ट पनि मलाई नै राख्नुपर्ने थियो । जिम्मेदारी ठूलो यता थियो, उता गाँजा खाएर मानसिक सन्तुलनलाई खलबल्याउनुपर्ने– गाँजा ज्युनारको काम सकिनेबित्तिकै भुजा ज्युनारमा सवारी चलाउनुपर्थ्यो ।

आफूलाई भने खानाको सारा कुरा टिप्नुपर्ने । झटपट गएर मार्बल छापेको भान्साघरमा मयलपोश खोलेर लडीबुडी गर्दथेँ । गाँजा लागेर छटपट पार्दथ्यो । मार्बलको चिसोले केही आराम हुन्थ्यो । बडो मुश्किलले रिपार्ट राख्ने काम गर्थें ।

रोग बढ्दै गयो । गाथमा बिसन्चो र कमजोरी पनि साथै बढे । उपचारको निमित्त अधिराजबाट अपरेसन गराउन स्वीकार गरिबक्सेन । पेटको पानी सुकाउने औषधी डाक्टरहरूले सायद दिएकै थिए क्यार ।

तर त्यसले गाथमा आराम पुर्याउन सकेन । शल्यक्रियाद्वारा पानी फाल्न पाए आराम हुनेथियो, के गर्नु ? अधिराजले यो मानिबक्सेन । गाथमा आराम होला भन्ने चिताउन असम्भव जस्तो हुँदैआयो ।

स्थिति देखेर मन छटपटाउँदथ्यो, अरू गर्नै पो के सक्दथेँ र ? सरकारको इच्छामुताबिक दिनभर मन बहलाउन खेल तमासा हुन्थे । हाम्रो पार्टीले दिउँसो कहिले मुठी–मुठीभर रुपयाँ गजर्काउँथ्यो । श्री ५ अधिराजलाई यी सब खेलबहाड मन पर्दथ्यो ।

कसले धेरै रुपयाँ गजर्क्याउन सक्थ्यो, त्यो हेर्ने मन अधिराजलाई थियो । मेरो मुठीमा ६५ देखि ७५ सम्म आउँदथे । यसरी उहाँको दिल बहलाउने काम हुन्थे ।

राजकाजको सम्पूर्ण जिम्मा भनूँ, वा के भनूँ, श्री ३ को हातमै बक्सेको थियो । राजदरबारसम्मको बन्दोबस्त श्री ३ बाटै हुन्थे । अरू गर्ने कामै के थिए र श्री ५ बाट आफ्नू जीवन त्यता लगाइबक्सने । समय बिताउनै पर्दथ्यो, विभिन्न यस्तै रमाइला कुरा गरेर उहाँहरू आफ्नू मन बहलाइबक्सने गर्दथ्यो ।

मेरा यी, अधिराज श्री ५ पृथ्वीवीरविक्रम शाहदेव प्रभुका अन्तिम सेवाका दिनहरू थिए । मनमा उकुसमुकुस लिएर हाँस्तै बाहिर रमाइलो मनाउन परिरहेको थियो । यी दिन पनि कस्ता थिए, सम्झँदा मन एकतमासको हुन्छ ।

राणाकालीन प्रशासक सरदार राममणि आचार्य दीक्षितकृत संस्मरणात्मक पुस्तक ‘पुराना सम्झना‘ बाट । पृथ्वीवीरविक्रम (त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी संवत् १९६६ कात्तिक ४ देखि राजदरबारको सेवामा प्रवेश गरेका थिए ।