नेपाल पक्षका २७ जनाको हस्ताक्षर मान्यता नदिन राष्ट्रपतिलाई ओलीको पत्र

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ जना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति कार्यालयमा पत्र दर्ता भएको छ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो पत्र पठाएका हुन्। पत्रमा भनिएको छ, ‘नेकपा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको कुरा आएको छ। पार्टीले छानबिन गर्दैछ। त्यसलाई मान्यता नदिइयोस्।’

यदि त्यस्‍तो गरेको पाइयो भने कारबाही गरिने समेत उल्लेख भएको ‍प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले बताए। उनले भने, ‘उक्त पक्षको हस्ताक्षरलाई मान्यता नदिन जानकारी गराइएको पत्र दर्ता गराएर आएका छौं।’