जनमोर्चाले शेरबहादुर देउवाको गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं- प्रतिनिधि सभामा एक सिट रहेको राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवाको गठबन्धनलाई समर्थन गर्ने भएको छ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धनलाई समर्थन गरेको जानकारी दिएका हुन्। प्रतिनिधि सभामा जनमोर्चाको दुर्गा पौडेल सांसद रहेकी छिन्। उनी प्रत्यक्ष निर्वाचित हुन्। गणतन्त्र देशको राष्ट्रियता तथा जनताको स्वास्थ्यका लागि ओलीको राजीनामा वा बहिर्गमन अहिलेको मुख्य आवश्यकता बनेको जनमोर्चाको ठहर छ। ​

‘ओलीको बहिर्गमन पश्चात बामपन्थीहरुका बीच आपसी समझदारी र सहकार्यका आधारमा नयाँ सरकारको निर्माण गरिनु पर्दछ। यदि त्यसो हुन नसकेमा ओलीको प्रतिमगनलाई परास्त गर्नका लागि प्रतिगमनविरुद्ध संघर्षरत शक्तिहरु एक भएर अगाडि बढ्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। देशमा उत्पन्न अस्थिर राजनीतिक परिस्थितिका लागि ओली नै मुख्य रुपमा दोषी रहेका जनमोर्चाको आरोप छ।

‘मुलुक कोरोना महामारीबाट गम्भीर रुपले ग्रस्त भएको बेला जनताको स्वास्थ्य उपचारमा ध्यान केन्द्रित गर्नुपर्नेमा देशलाई मध्यावधिमा धकेल्न खोज्नु ओलीको अत्यन्तै निकृष्ट तथा गैरजिम्मेवार कार्य हो, ’ विज्ञप्तिमा भनिएको छ, ‘ आफ्नो पदीय महत्वाकांक्षा पूरा गर्न ओली देशको राष्ट्रियता, सार्वभौम सत्ता, अखण्डता, गणतन्त्र तथा जनताको स्वास्थ्यकाविरुद्ध जुनसुकै प्रकारको सौदाबाजी गर्न सक्छन् भन्ने कुराको यो ज्वलन्त उदाहरण हो।’

बिहीबार प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताकाविरुद्ध रहेको जनमोर्चाको ठहर छ। प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा उठाइएको त्यसप्रकारको असंवैधानिक कदमको विपक्षमा पार्टी रहेको केसीले उल्लेख गरेका छन् ।