‘माधव नेपाल पक्षले देउवालाई समर्थन गर्नु गम्भीर विषय ‘ – एमाले

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई गरेको समर्थन गम्भीर विषय भएको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको एमालेको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै उनले त्यस्तो काम कम्युनिस्ट पार्टीमा कल्पना बाहिरको विषय भएको बताए।

‘शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्नु गम्भीर विषय हो,’ उनले भने, ‘सामान्यता कुनै पनि दलहरुमा परिकल्पना गरिँदैन। कम्युनिस्ट पार्टीमा त झन् त्यस कुराको अपेक्षा र कल्पना नै गरिँदैन। कल्पनाभन्दा बाहिरको कुरा हो। कल्पनाभन्दा बाहिरका कुराहरु भएका छन्। त्यसका समीक्षा गर्दै समाधान गर्ने हरसम्भव प्रयत्नका साथ हामी अगाडि बढ्छौं।’

उनले कार्यदलको बैठकमा विभिन्न विषयमा कुराकानी गरेको बताए। ‘हिजो भएको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचन र आज शेरबहादुर देउवालाई सरकार बनाउने सन्दर्भमा गरिएको हस्ताक्षरका विषयमा छलफल गरेका छौं,’ उनले भने। बैठकमा नेपाल पक्षका नेताहरुले संसद्को विघटन हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए।

तर आफूहरुले त्यसो नहुने कुरामा आश्वस्त तुल्याउने प्रयास गरेको उनले बताए। बैठकबाट निष्कर्ष ननिस्किएको उनको भनाइ छ। ‘हामीले पार्टी एकतालाई जोगाउन हरसम्म प्रयत्न गर्ने कुराकानी गरेर उठेका छौं,’ उनले भने। कार्यदलको यो दोस्रो बैठक हो।