शितल निवासको रोचक दृश्य: राष्ट्रपति र प्रधानमन्त्रीभित्र, देउवा, प्रचण्ड, माधव र उपेन्द्र बाहिर

१ सय ४९ जना माननीयको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर सहितका नेताहरु शीतल निवासको पाहुना कक्षमा बसिरहँदा भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

नयाँ गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर दाबी पेश गर्नुअगाडि प्रधानमन्त्रीसँग भएको राष्ट्रपतिको भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण ढंगले हेरिएको छ । शीतल निवासको पाहुना कक्षमा देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराई लगायत झण्डै एक दर्जन नेता समयको लागि कुरेर बस्नुभएको हो ।

यता एमाले कार्यदलको बैठक अर्थ मन्त्रालयमा बसिरहेको छ भने, उता सिँहदरवारमा १३ वटा गाडीमा सवार १६ जना माननीय (जसपा ठाकुर समूह) को छुट्टै भेला जारी छ ।यसैबीच एमाले नेता सुरेन्द्र पाण्डेले कार्यदलको बैठकमा पस्नुअघि आफूले देउवालाई प्रधानमन्त्री बनाउन कुनै हस्ताक्षर नगरेको बताउनुभएको छ ।

आजै बिहान उहाँसमेत सँलग्न नेपाल पक्षको स्थायी समिति बैठकले सबै निर्णय गर्ने जिम्मा माधवकुमार नेपाललाई दिएको थियो ।राष्ट्रपतिले एमाले बिभाजित भैनसकेको हुँदा एमालेका २७ माननीयको हस्ताक्षर मान्य नहुने भनी प्रक्रिया रोक्ने सम्भावना देखिएको बताइन्छ । त्यसो त ७६ (५) दलको नेता हैन ब्यक्ति ब्यक्तिले ब्यक्ति छान्न पाउने धारा हो भन्ने कानूनविदहरुको तर्क छ ।