माधव नेपाल प्रधानमन्त्रीको दाबेदार, एमालेका ४० भन्दा बढी सांसदको साथ

सत्ता संघर्ष रोचक मोडमा पुग्दा नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् । ओलीवरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने अवस्थामा थप एमाले सांसदहरुले साथ दिने वचन दिएको बुझिएको छ ।

यथास्थितिमा नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना खुलेका छन् । यसअघि नेपाल समूह छाडेका सांसदहरु पनि उनीसँग सम्पर्कमा रहेको र ४० भन्दा बढीले साथ दिने वचन दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अहिले माधव नेपाल समूहले हस्ताक्षर संकलन गरिरहेको छ ।

आफ्नो समूहमा ४० भन्दा बढी सांसद संख्या पुगेमा नेपाल समूहले सांसदबाट राजीनामा दिने नभई गठबन्धनको प्रधानमन्त्रीकै दाबी गर्ने भएको छ । यो संख्याको साथ लिएर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने देखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभामा २७५ सदस्य संख्यामध्ये ४ निलम्बित र ४ सिट खाली छ । कुल २६७ मा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य संख्या पुग्छ । माधव नेपाल समूहले ४० सांसद पुर्याउन सके १६६ सदस्य संख्या पुग्छ । अन्य दलका सांसदलाई समेत साथ लिएर अगाडि बढ्ने रणनीतिका साथ ओलीविरोधी गठबन्धन आक्रामक रुपमा लागेको छ ।