म दिक्क भइसकें, मलाई सरकार चलाउनु छैन : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनैपिच्छे भइरहेको विरोधले आफू दिक्क भइसकेकाले सरकार नचलाउने बताएका छन् ।

शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग गरिएको अन्तक्र्रियामा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म दिक्क भइसकें सरकार चलाउन, मलाई सरकार चलाउनु छैन, मैले किन विश्वासको मत लिने ?

दलहरूबाट विरोधका लागि विरोध गरेर असहयोग भइरहेकाले सरकार चलाउन नसकिएको उनले बताए । ‘दिनैपिच्छेको असहयोग, दिनैपिच्छेको विरोध । विरोधका लागि विरोध । मलाई सरकार चलाउनु छैन, उनले भने ।

ओलीले आफूले राजीनामा दिनैपर्ने भनेर संविधानमा नलेखिएको बताउँदै नयाँ अर्काे प्रधानमन्त्री नबन्दासम्म आफूले काम गरिराख्नुपर्ने बताए । ‘अर्काे प्रधानमन्त्री नबन्दासम्म म काम गरिरहन्छु, अर्काे सरकार बनाउन बाटो खोलेकै छ,’ उनले भने ।

उनले चुनावै भए पनि आकाश नखस्ने बताए । ओलीले भने, ‘नयाँ सरकार बनाउन नसकेर उहाँहरूले चुनावमै पुर्‍याउनु भए पनि आकाश खस्ने कुरा होइन । स्वतन्त्र, निष्पक्ष चुनाव गराउनुपर्छ,’ उनले भने, चुनावै भए पनि आकाश खस्ने होइन । आउँदो फागुनमा त स्थानीय तह निर्वाचन गर्नैपर्छ, निर्वाचनसँग भागेर कहीँ पुगिँदैन, जनताको मूल्यांकन थाहा पाउनुपर्छ, जनताको आदेश ताजा जनादेश स्वीकार्नुपर्छ ।