माधवलाई केपीको प्रश्न : विपक्षीसँग मिलेर सरकार ढाल्न खोज्नुलाई लोकतन्त्रमा के भनिन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न राष्ट्रिय राजनीतिमा फोहोरी खेल भएको बताएका छन् ।

शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले आफूलाई संसदमा विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्यूह बनाइएको बताए । महाभारतकालीन चक्रब्यूहमा नीति, विधि तोडेर, युद्धका नियम तोडेर, आचारसंहिता तोडेर, मर्यादा तोडेर, इमान–जमान छोडेर अभिमन्युको ह’त्या भएको थियो, उनले भने, अहिले विश्वासको मत नपुगोस् भनेर दलहरूभित्रै विग्रह । दलभित्रैबाट समेत २७–२७ मान्छे गुटगत ढंगले अनुशासनहीन भएर अनुपस्थित भए ।

दलभित्रैबाट विपक्षीसँग मिल्ने खेल भयो । विपक्षीसँग मिलेर सरकार ढाल्न खोज्नुलाई लोकतन्त्रमा के भनिन्छ ? यस्ता प्रयास कुनै पनि हिसाबले नैतिक हुन सक्छन् ? प्रधानमन्त्री ओलीले बिहीवार मन्त्रिपरिषद्ले गरेको सिफारिस सही भएको बताए । ‘संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि मार्गप्रशस्त गरेर आह्वान गरियोस् र अर्काे सरकार बनोस् भन्ने अभिप्रायका साथ सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बाटो खोलिदिएको सिफारिस गरेको कुरा सर्वविदितै छ, उनले भने, त्यो कुरा बाहिर आएपछि बहुतै कृत्रिम, नाटकीय व्याख्याहरू हुने गरेको पाइयो ।

मानिलिउँ यो असाध्यै नयाँ कुरा अचानक आइपुग्यो जस्तो । यदि यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैन्थ्यो भन्ने स्पष्ट छ, फेरि जाने संविधानको उपधारा (५) कै प्रक्रियामा हो । यतिबेला बजेट ल्याउने चाप भएकाले विश्वासको मत लिने पर्याप्त समय नभएको समेत ओलीले बताए ।

जेठ १५ गते संविधानले नै तोकको छ, बजेट प्रस्तुत गर्नुपर्छ । त्योभन्दा अगाडि नीति कार्यक्रम पेश गर्नुपर्छ,’ उनले भने, ‘विश्वासको मत लिने कर्मकाण्ड गरेर फेरि पराजित भएर (५) मा गइरहने समयको सुविधा हामीलाई छैन । (५) मै जानुपर्ने भइसकेपछि मार्गप्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु, समयको चाप र परिस्थितिको हिसाबले उचित मात्रै होइन, अपरिहार्य र अत्यावश्यक भइसक्यो । अर्काे सरकार बनोस्, वैकल्पिक सरकार बनोस् भनेर हो, सरकार जोगाउन कब्जा गर्न खोजिएको छैन ।