केहि समय पछी प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।उता राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ ।

आज बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेको भन्दै आज साँझ ५ बजेअघिनै सबै विकल्प प्रयोग गरेर यो प्रवृतिलाई परास्त गर्ने निर्णय लिएको छ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा आज विहान बसेको पदाधिकारी बैठकमा ५ बजे अघि नै केही न केही उपाय निकाल्ने र त्यसका लायि अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।