समय अभावका कारण वैकल्पिक सरकार दिन नसकिने कांग्रेसको ठहर

समय अभावका कारण वैकल्पिक सरकार दिन नसकिने कांग्रेसले ठहर गरेको छ । तर, विपक्षी दलसँग छलफल र गृहकार्यलाई भने निरन्तरता दिइनेछ ।

पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको संयुक्त बैठकले विभिन्न विकल्पमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।

नेपाली कांग्रेसले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि गर्नुभएको आहवान सम्बन्धमा सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको हो ।

‘संविधानको रक्षा मूल उद्देश्यसहित कुन बाटो अख्तियार गर्नुपर्छ, अन्य दलसँग सबै विकल्पमा छलफल गर्छौं,’ बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो ।