ठाकुर पक्षीय संसदीय दलको बैठकमा ‘फूलमाला’

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरनिकट सांसदहरुको बैठक सिंहदरवारमा शुरु भएको छ । संसदीय दलका नेता बनेका राजेन्द्र महतोले आफू पक्षीय सांसदहरुलाई पार्टीको संसदीय दलको कार्यालयमा बोलाएका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद्हरुले भने पार्टीको ससदीय दलको बैठकबारे आफूहरु बेखबर रहेको बताएका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएपछि ठाकुरपक्ष यतिबेला छलफलमा जुटेको हो । बैठकमा फूलमालासमेत मगाइएको छ । एक झोला फूलमाला मगाएर नेताहरु छलफलमा जुटिरहेका छन् ।

यता जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य सुरु गरेका छन् । उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका हुन् ।

जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । उनले भने, ‘अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रस्ताव पठाइसक्नु भएको छ ।