भीम रावल भन्छन्– ७६ (४) छल्न मिल्दैन, नागरिकतालाई कुर्सीको खेलसँग जोड्नु हुँदैन

नेकपा (एमाले)को खनाल–नेपाल समूहका नेता भीम रावलले संविधानको धारा ७६ (४) छल्न नमिल्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नागरिकताको विषयलाई कुर्सीको खेलसँग जोड्न नहुने पनि बताएका छन् । “नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक होइन, बाध्यकारी हो । यसलाई छल्न मिल्दैन । नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न ।

नगरिकताबारे संविधानसभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ,” उनले ट्विटमा भनेका छन् ।

त्यस्तै एमसीसीसँगको सम्झौतामा राष्ट्रिय हित, स्वाधीनता, सुरक्षा र कानुनविपरीत रहेका प्रावधान नहटाई राजनीति र सरकार अस्थिर भएको बेला यसलाई अगाडि बढाउनु र तयारीको नाममा अनुमोदन नभएको सम्झौताका अयोजना अघि बढाउनु देशप्रतिको गद्दारी हुने उनको ठहर छ ।