रामराम भन्न सकिन्छ, ओली प्रवृत्तिलाई काँध थाप्न सकिँदैन

केही महिनायता मेरो कलम पानीजहाजको कम्पासले दिशा पक्रन नसकेझैँ भयो । अहिले यो मुलुकको विगतका पृष्ठभूमिदेखि वर्तमानसम्मको यात्रालाई नियाल्दै छु । मेरो सोच नयाँ विषय र यात्राको खोजीमा तल्लीन छ । मेरो मस्तिष्कमा पलाएको परिवर्तनमुखी ज्ञान र चेतनाले समेटिएको विगतको स्मरणका पानाहरूले मुलुकको बारेमा ठोस विषय पक्रन केही समय अझै माग गरेको छ ।

जहानियाँ राणाकालदेखि गणना गर्दा ७० वर्षभन्दा बढी समय नेपाली जनता र सचेत राजनीतिकर्मीहरूले आफ्नो देशको स्वाधीनता, स्वतन्त्रता, गौरव र परिवर्तनमुखी लोकतन्त्रका लागि लड्दै आए । जीवनको त्याग र आहुति दिए तर घडीको सुईझैँ फेरि उही ठाउँमा फर्केझैँ परिस्थिति र अवस्था पुरानै ठाउँमा पुगेका झझल्को भइरहन्छ ।

राणा, सामन्त र जमिन्दार फेरि हाम्रै आगनमा घोडा चढेर आएको आभास हुन्छ । राणा शासनको अन्त्य पञ्चायतको अन्त्य, राजासहितको बहुदललाई बिदा गरी गणतन्त्रको स्थापना गरी सक्यौँ हैन त भनेर आफैलाई निरन्तर सोधिरहन्छु ? सायद हामी सबैले आफैले आफैलाई यी प्रश्न सोधिरहेको छौँ जस्तो लाग्छ ।

तर पनि हुकुम, आदेश, तोक, इस्तिहार, पञ्चपत्र र लालमोहरको तिरहरू गणतन्त्र र सङ्घीय पक्षधर राजनीतिक पार्टीहरू, नयाँ संविधान र जनप्रतिनिधि उपस्थित हुने ती संसद् भवनविरुद्ध निरन्तर प्रहार भइरहेको देख्छु । विधिको शासन स्वतन्त्र न्यायपालिका संविधानको सर्वोच्चतामाथि धावा बोल्न तीव्र गतिमा तुवाँलो उर्लिरहेको देख्छु । मुलुकमा यस्ता परिघटना किन मञ्चन भइरहेको छ ? आफैले आफूलाई निरन्तर प्रश्न गरिरहेको हुन्छु ।

हेर्दाहेर्दै ४०÷५० वर्ष परिवर्तनका पक्षमा लडेका सङ्घर्षशील व्यक्तित्वहरू रातारात नयाँ कठपुतलीझैँ भारदारहरूमा परिणत भएको आभास हुन्छ । आफूले जिन्दगीभर परिवर्तनमुखी देखेका योद्धाहरू बोलकबोलमा बिक्री हुने बालुवाले बनाएको मूर्तिजस्तो देखिन्छ । मुलुकले फेरि नयाँ वादशाहको रवैया मञ्चन हुन खोजेको त हैन ?

ती नवनियुक्त भारदारहरू, बादशाहहरूको कम्मर, पिँडौलामा पदको लागि बाध्य भएर तेल घस्ने नोकर चाकर जस्तो देखिन्छ । बैठक सजाउने वैठके र वादशाहलाई तमाखु टक्राउने हुक्के जस्तो देखिन्छ । यो के परिदृश्य देखरिहेको छौँ, नेपाली समाजले ? साँच्चिकै सपना हो कि विपना ?

विक्रम संवत् १९१० मा राणा प्रधानमन्त्री जङ्गबहादुरले पनि अब मुलुकमा कानुन चाहिन्छ भनी मुलुकी ऐन जारी गरेको थियो । अब त मुलुकमा कुनै संविधान, कानुन, रीतिरिवाज, परम्परा र संस्कृति केही नचाहिने । नयाँ वादशाहहरूको हुकुम र तोक नै काफी हुनेगरी जङ्गबहादुरलाई उछिनेर आदेश र फरमान जारी गर्न बादशाहहरू उद्यत भएको हामीले देखिरहेका छौँ । बादशाहहरूको वचन र बोलीले सञ्चारजगत् छफक्कै ढाकेको देखिन्छ । वादशाहहरूको बूढो उमेरलाई बोलीले जवान बनाएको छ ।

यो मुलुकको परिवर्तनका लागि धेरै कष्ट खेपेका, जेलनेल खाएका, मुद्दा खेपेका, पञ्चायती राजमा संयोगले ज्यान बचाएका, जनयुद्धकालमा शाही शासकको दमनविरुद्ध प्रतिरोध गरेका, मुलुकमा गणतन्त्र स्थापना गरी जनताको शासन ल्याउन कम्मर कसेका, यो मुलुकको हित चाहनेहरू, मुलुकमा राम्रो होस, मुलुकले विकास र समृद्धि पाओस्, भनी छातीभरि परिवर्तनको भावनाले ओतप्रोत भएका जनताहरू आवाजविहीन, हातपाउविहीन बनाउन खोजिएको छ ।

इतिहासमा नेपाली जनताले बनाएको पहिलो संविधान जारीपछि २०७४ सालमा सम्पन्न पहिलो आम चुनावमा जनताले कम्युनिस्टहरूको सरकारलाई हर्षित मुद्रामा छाप लगाई दुईतिहाई नजिकको माला पहिराए । दुई तिहाइको माला मात्र लगाई दिएन घटीमा ५० वर्ष नेपालमा कम्युनिस्टहरू पार्टीको सरकार गठन होस् भन्ने जनताले शुभकामना दिए । पार्टी एकता भयो । तर, ती सबै सपनाहरू नष्ट गर्न नेपाली कम्युनिस्ट आन्दोलनमा छिपेर बसेका नयाँ बादशाहहरूले धमिराको चालमा पार्टीलाई ध्वस्त पारी भ्यायो ।

कस्तो विडम्बना, आफ्ना अग्रजहरूले ७० वर्षदेखि लड्दै आएको आन्दोलनलाई ध्वंसका लागि आतुर हुने, आफ्ना सहकर्मीलाई दास ठान्ने, सर्वैसर्वा आफै, योगी महाराज, सन्त महात्मा, धर्म गुरुदेखि सबै विषयका आविष्कारक, वैज्ञानिक आफै, तीन त्रिलोक बुझेका दूरदर्शी आफै, मानिसलाई पद र शक्तिले कस्तो बनाउँदो रहेछ, अचम्म देखिरहेका छौँ ।

विधिमा प्रतिस्पर्धा गर्नुभन्दा, षड्यन्त्र र छलछाम प्यारो, जिम्मेवारी र दायित्वभन्दा रवाफ प्यारो, दुर्भाग्य कोरोनाले ग्रसित जनता भन्दा कुर्सी प्यारो संसद् पुनस्र्थापना र अविश्वासले लछारे पनि घमण्ड, तेज उस्तै, जनताले मन नपराए पनि आफ्नो तैनाथी कारिन्दाहरूले मन पराय पुग्ने ।

यस्तो शासन व्यवस्थाको सुरुवात भएको छ फेरि नेपालमा । विरोधी कित्ताबाट हैन, अरू पार्टीबाट पनि हैन, आफ्नै कोखाबाट आफ्नै घरको धुरीबाट, आफ्नै वन्धुत्वबाट नेपालमा कम्युनिस्ट आन्दोलनले यो कस्तो दुर्भाग्य बेहोर्नुपरेको छ ।

जनसमर्थनलाई आफैले लत्याउँदै, अविश्वास र अल्पमत परेको बादशाहहरूको दम्भता पटक पटक दोहरिरहँदा काउकुती लाग्छ, हाँस्न मन लाग्छ, निर्लज्जता देखेर । अचम्मको देश बन्यो नेपाल, आलोचनाको पहाड कम्युनिस्टहरूको थाप्लोमा कस्तो राम्रो योजना र प्रविधि कम्युनिस्ट काट्ने करौँती कम्युनिस्ट नै ।

नेपालमा मार्क्सवादको विश्लेषण अलि फरक प¥यो कि भन्ने महसुस हुन्छ । वादशाहहरू मार्क्सवादी हैनन् । तर मार्क्सवादीहरू वादशाह पनि हुन सक्दोरहेछ भन्ने नेपालमा नयाँ सिद्धान्त प्रतिपादन गरेछन् कि जस्तो लाग्छ । बेलायतका जेम्सहरू, फ्रान्सका लुईहरू, नेपालका पृथ्वी नारायणका सन्तानहरू र जङ्गबहादुरका सन्तानहरू, सामन्ती निरङ्कुश संस्कारमा हुर्केबढे । आफ्ना पुर्खाले जे गरे त्यही गर्दै आए उनीहरूले ।

आफ्नो धर्म, कर्म र परम्पराको सकुन्जेल निरन्तरता दिए । त्यो उनीहरूको सामन्ती राजकीय जिम्मेवारी दायित्व पनि होला । तर सत्तामा नपुगुन्जेल दुःखी जनताका कुरा, गर्ने गरिबको सेवा गर्छु भन्ने, उत्पीडित जनताको नाम जप्ने, आफ्नो योग्यता आफै फलाक्ने, सत्तामा पुग्न सामदाम दण्ड भेद षडयन्त्र, चाटुकारिता सबैको अभ्यास गर्ने, जब सत्ताको स्ल्याण जिउमा चड्दै जान्छ, जनतालाई चिन्दै नचिन्ने रोगले ग्रस्त हुने, आफूलाई सङ्घर्ष र आन्दोलनमा सहयोग गर्ने गरिब श्रमिक जनता र कार्यकर्तालाई नचिन्ने अल्जाइमरको रोग सुरु हुने, बालुवाटार र सिंहदरबार छिरेपछि नातागोता र कर्मचारीतन्त्रको गोल चक्रभित्र रमाउने यो रोगले अरूलाई भन्दा बढी यी इच्छाधारी कम्युनिस्टहरूलाई नै बढी चापेको देखिन्छ ।

समयको चक्रले सत्ताको राप परेपछि कस्तो देखिँदोरहेछ । धन्य कम्युनिस्टको झण्डा ओड्ने पाखण्डीहरू । जनता घुमिफिरी उस्ताको उस्तै झन् पछि झन् ओरालो लाग्ने । दिन दुई गुणा रात चौगुणा सत्ताका मात चढेकाहरूलाई श्रम, मिहिनेत, लगानी केही नचाहिने । जहाँबाट भए पनि पद लिन पाए, पद दिन पाए, लिने दिने दुवै खुसी हुने । के नेपाली जनताले यिनै दृश्य देख्न आन्दोलनमा गरेका थिए ? मुलुक समृद्धिका लागी वा गुटको स्वर्ग निर्माण गरिदिन ? यी प्रश्न अनन्त सम्म दोहोरिरहने छ ।

यहाँनिर एउटा उदाहरण दिन मन लाग्छ । स्वेच्छाचारी राजालाई थप स्वेच्छचारी र निरङ्कुश बन्न इटलीका राजनीतिक चिन्तक मेकावेलीले ‘द स्टेटम्यान’ भन्ने पुस्तक लेखिदिए । त्यस्तै केपी ओलीलाई कतिपय ओली गुटका कथित बुद्धिजीवीहरूले अहिले त्यसरी नै केपी ओलीलाई कसरी निरङ्कुश हुन सकिन्छ भनेर उक्साइरहेका छन् ।

अहिले वादशाहरूले आफनो प्रशंसा र गुण गान गाउने, आन्दोलनले नचिनेका, कहिल्यै सङ्घर्षमा नलागेका, पार्टीसँग सरोकार नभएका व्यक्तिलाई बढी रुचाउँदा रहेछन् । किनभने उनीहरूले पार्टीमा सार्वजनिक स्थलमा कुरा उठाउँदैनन्, विरोध गर्दैैनन् । ज्यूहजुरी गरी वादशाहहरूलाई देउता मान्छन् । त्यस्ता मान्छे बादशाहहरूले अगाडि पछाडि लगाएर हिँड्न गौरव गर्दा रहेछन् ।

पार्टी कार्यकर्ता, समकक्षीहरू र सँगै सङ्घर्षको मैदानमा हिँडेकाहरूबाट उनीहरू आफूलाई आलोचित हुने, विधि र पद्धतिको कुरा उठाउने, जनवादी केन्द्रीयता र अनुशासनको कुरा उठाउने त्रास हुदो रहेछ । त्यसैले यी नयाँ बादशाहहरूले जहिले पनि आफ्ना हुक्के ढोके र बैठकेबाट तैनाथ भएका कारिन्दाहरूलाई थेग्नै नसक्ने पदहरुको पगरी गुथाउँदा रहेछन् ।

सत्तामा उक्लन सिद्धान्त र सङ्घर्षका उद्घोष गर्ने, जनताहरूलाई सङ्घर्षको भुमरीमा हाल्ने गर्छन् । सत्ता प्राप्त भएपछि पार्टी, कार्यकर्ता, सिद्धान्त, विधि र पद्धति विर्सने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको गर्भबाट निस्केका यी धोकेवाज प्रवृत्तिको गतिविधि हेर्दा नेपाली जनताले आफुले आन्दोलन र सङ्घर्षहरूको पक्षमा निर्वाह गरेका जिम्मेवारी र योगदानलाई आफैले धिक्कार्नुपर्ने अवस्था आएको छ ।

सङ्घर्षशील जनताले राणाहरूको अत्याचारको विरोध गरे । पञ्चायती निरङ्कुशताको विरोध गरे । राज्य आतङ्क मच्चाउने नेपाली काँगे्रसको पनि धेरै विरोध र सङ्घर्ष सञ्चालन गरे । नेपाली जनताको एउटै विशेशता सङ्घर्षको खातिर कहिल्यै थाकेका छैनन्, हारेको पनि छैनन् ।

संसद् पुनस्र्थापनाको पक्षमा उठेका जनमत परिवर्तनमुखी र लोकतन्त्र पक्षधर नेपालीहरूको साझा आवाज र सङ्घर्षको प्रतिविम्ब थियो । विगतका शासनहरूसँग जनता लड्दै आए, विजय हासिल गर्दै आए । अब पालो कम्युनिस्टको खोल ओडेर कम्युनिस्टकै बदनाम गर्ने प्रवृत्ति विरुद्ध लड्ने पालो आएको छ । कम्युनिस्ट आन्दोलनभित्रबाट पैदा भएको विकृत बादशाहहरूको विरोध गर्ने पालो सुरु भएको छ ।

कम्युनिस्टको झण्डा र साइनबोर्ड राख्ने, विधान प्रतिवेदन पारित गर्ने, कम्युनिस्ट पार्टीको नाममा टिकट बाँड्ने, तिनै कम्युनिस्ट पार्टीका नामबाट श्रमजीवी र गरिब सोझा जनतासँग भोट लिएर सत्ताको भरेङ चढ्ने, विजय हासिल भए पछि एकपछि अर्को रूप फेर्दै नयाँ वादशाह बन्ने प्रवृत्ति छ । यो मार्क्सवादी, लेनिनवादी पद्धति हैन ।

अब नेपाली जनताले कम्युनिस्ट आन्दोलनलाई बचाउन र जनताका पक्षमा केही गर्ने सोच छ भने पहिलो त कम्युनिस्टको झण्डा बोकेर कम्युनिस्टलाई समाप्त पार्ने नयाँ बादशाहहरूलाई घोडाबाट झार्नु पर्छ । कम्युनिस्ट विचार, आदर्श, सोच, चिन्तन र नीतिलाई संस्थागत गर्न सक्नुपर्दछ । विशेषतः श्रमजीवी र उत्पीडित जनताहरू गोलबन्द हुने साङ्गठानिक संरचनालाई पुनर्निर्माण गर्दै उनीहरुविरुद्ध राजनीतिक भण्डाफोर अभियान सञ्चालन गरी उनीहरूको सबै प्रकृतिको सञ्जाललाई निष्क्रिय गर्नुपर्दछ ।

उत्पीडित जनताको एकतामा आधारित जाति, वर्ग, क्षेत्र, लिङ्ग लगायत सम्पूर्ण उत्पीडित जनताबीच सशक्त संयुक्त मोर्चा तत्काल परिचालन गर्नुपर्छ । साझा नीति साझा जिम्मेवारीको आधारमा मुलुकलाई समाजवादउन्मुख विकासको मोडलमा उभ्याउन सके मात्र यस्ता नयाँ वादशाह प्रवृत्तिहरूको अन्त्य हुन सक्छ । यस विषयमा सबै तह र तप्कामा व्यवस्थित छलफलको खाँचो छ ।

नेपाली कम्युनिस्ट आन्दोलन, आफ्नै बुता र क्षमतामा विकास हुँदै आएको जनताको सङ्घर्ष र चेतना हो । नेपालको मौलिक विशेषतामा विकास भएको यो आन्दोलनको आफ्नै स्वरूप र दायरा छन् ।

विश्वका अन्य देशमा जस्तै कम्युनिस्ट व्यवस्था नै नेपालमा लागू हुन नसक्ने विविध कारण भए पनि नेपालमा कम्युनिस्ट आन्दोलनले परिवर्तनको अग्रणी भूमिका खेल्दै आएको छ । १० वर्षको जनयुद्धको निर्णायक सङ्घर्षले राजतन्त्रको विकल्पमा गणतन्त्र स्थापना गरे पनि गणतन्त्रको श्रेय माओवादी पार्टीले लिने त्रास अन्य प्रायः सबै पार्टीमा र माओवादी विरोधी पङ्क्तिमा व्याप्त छ । जनयुद्धको घोर विरोध गर्ने केपी ओलीले जनयुद्धको राजनीतिक, वैचारिक र साङ्गठानिक पक्षलाई कहिल्यै स्वीकार गर्न चाहेनन् ।

जनयुद्धको परिवर्तनले स्थापना भएको गणतन्त्रको प्रधानमन्त्री हुन लालायित केपी ओलीले गणतन्त्रको औचित्य पुष्टि गर्ने धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी, समानुपातिक र पहिचानसहितको राज्य पुनर्संरचनालाई कहिल्यै आत्मसात गर्न चाहेन । पहिचानको विषय उठाउनेहरू मूर्ख घोषणा गरिरहेका छन् उनले । संविधान जारी भएको मितिदेखि संविधान उल्लङ्घन गर्न उद्यत, पार्टी एकता भई दोस्रो केन्द्रीय समितिको बैठकपछि खुलमखुल्ला पार्टी विरोधी गतिविधि र गुटसञ्चालन गरेको घटनाले केपी ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्धमा उनले एकपछि अर्को तानावाना बुन्दै अहिले आफै संसद्मा अल्पमत, पार्टीमा विवादको केन्द्रविन्दु बनेको छ ।

ओलीको एकाधिकारी र स्वेच्छाचारी चेतना र सोचका कारणले उनको प्रत्येक कार्य गैरराजनीतिक, विघटनकारी र प्रतिगमनको पक्षपोषक भएका धेरै घटनाक्रमले पुष्टि गरिसकेको छ । अनधिकृत संसद्को विघटन गरेको अदालतबाट निर्णय भएको, संसद्बाट बहुमत गुमी सक्दा पनि अझै सत्तामा टाँसिरहने उनको रवैयाले यो मुलुकको नेतृत्व गर्ने सबै हैसियत गुमाइसकेको छ ।

संवैधानिक प्रावधानअनुसार अल्पमतको सरकारले विश्वासको मत लिन बाँकी अवधिमा कुनै नीतिगत निर्णय गर्न पाउँदैन । तर उनी स्वेच्छचारी कदम चाल्न छोडेको छैन । स्व. गिरिजाप्रसादले आफ्नो नीति तथा कार्यक्रम अस्वीकृत हुँदा संसद् समक्ष राजीनामा दिएको घटना एउटा प्रधानमन्त्री नैतिक रूपमा कति जिम्मेवार हुनुपर्छ भन्ने उदाहरण काफी छ । कुनै नैतिक जिम्मेवारी नलिने सरकारी नेतृत्वबाट मुलुक कता जान्छ ? संविधान कहिले फेरि भत्किन्छ । राज्यसंरचना कुन बेला ध्वंस गर्छ भनी प्रतीक्षा गर्नुभन्दा बाँकी केही छैन ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई धोका दिने केशरजङ्ग भन्दा लाखौँ गुणा बढी केपी शर्मा ओली प्रवृत्ति प्रकट भएको छ । कम्युनिस्ट आन्दोलनलाई यो सङ्कटबाट सहज बनाउने जिम्मेवारी परिवर्तनकारी नेता कार्यकर्ता तथा लोकतन्त्रका पक्षधरहरूको काँधमा आएको छ ।

विश्वमा कम्युनिस्ट आन्दोलनको फरक फरक रूपमा विघटन र प्रतिक्रान्ति भयो । नेपालमा फरक रूप देखा पर्दैछ । रुस र नेपालको थोर बहुत मिल्छ । रुसको प्रतिक्रान्ति र सोभियत सङ्घ विघटनका लागि गोर्वाचोव र यल्तसिनलाई प्रयोग गरे । अक्टोबर क्रान्तिबाट गठन भएको सोभियत सङ्घ ध्वस्त गर्ने तिनै कम्युनिस्ट नामधारीहरूले गरे ।

रोमानियामा चाउचेस्कु जस्ता अराजक सुविधाभोगीले गरे । पेरुमा क्रान्तिकारीहरूले ठीक समयमा ठीक निर्णय गर्न नसक्दा भयो । त्यसरी नै नेपालको प्रतिक्रान्तिको रूप हेर्दा दुस्मन शक्तिको प्रहारबाट हैन लामो समय कम्युनिस्ट आन्दोलनमै खटिएका, लामो समय जेल बसेको योग्यता दर्ज गर्ने, तीन वर्षभन्दा बढी गोलघरमा कष्टपूर्ण जीवन विताउने, केपी ओलीकै बाहुलीबाट विघटन सुरु भएको छ । ओली प्रवृत्ति सत्तामा आसिन होला । भावी चुनावमा दुई तिहाइ पनि प्राप्त गर्ला तर हामीले हेक्का राखौँ त्यो नेपालका श्रमजीवी र मेहनकस जनताको पक्षमा हैन नयाँ वादशाह बन्ने ओलीको एकाधिकारवादी प्रवृत्तिको पक्षपोषण र यो देशमा प्रतिगामीको रजाइँको लागि हुन सक्छ ।

अन्ततः मेरो अन्तस्करणमा यो मुलुकमा ठुल्ठुला सङ्घर्षहरू हँुदै आएका छन् । तर उपलब्धि जहिले पनि एकाधिकारवादीहरूकै पोल्टामा गएको छ । कारण घोत्लिएर सोच्दा सङ्घर्षले निर्माण गरेका नेतृत्वलाई कार्यकर्ता र जनताको तहबाट खबरदारी गर्न नसकेकै हो । सङ्घर्षमा साथ दिने उपलब्धिलाई संस्थागत गर्नेभन्दा मन परेकालाई बाँडचुँड गर्न नेताहरूलाई छुट दिएकै कारणले नेतृत्व छछल्किएको हो ।

उदाहरणका लागि ओली प्रवृत्तिसम्म पुग्ने वातावरण तयार भएको हो । अवसर र पद गुम्ने डरले नेतालाई सचेत गराउन नसकेकै कारणले आज सहकर्मी शत्रु राजावादी शक्ति राप्रपा सम्मलाई मित्र शक्ति देख्ने ओली प्रवृत्तिको जन्म कम्युनिस्ट आन्दोलन भित्रैबाट भयो । आज ओली प्रवृत्तिको दायाँ बायाँ पञ्चायती राजका भारदारहरू ओली बचाउको लागि मरिमेटी लागेको छ । यसको गन्तव्य कहाँसम्म पुग्छ, प्रतीक्षा र धैर्यताको खाँचो छ ।

त्यसैले क्षणिक छलछामले ओली प्रवृत्ति सत्ता हत्याउन सफल होला तर उत्पीडित जनताको प्रतिनिधित्व गर्न उनको गुटले सक्तैन । छोटो समयमै जनताको जित हुनेछ । तर सुझबुझ, संस्थागत छलफल र विश्लेषण अनिवार्य छ ।

विश्वका इतिहासमा पछि फर्कनेहरू जहिले पनि हारेका छन् । अगाडि बढ्नेहरू जहिले पनि विजय हासिल गर्दै आएका छन् । ओली प्रवृत्तिको हार सुनिश्चित छ । लाखौँ जनताको त्याग र आहुतिबाट अगाडि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलनको विजय सुनिश्चित छ । रामराम भन्न सक्छौँ, ओली प्रवृत्तिलाई काँध थाप्न कसैले सक्तैन ।

(माओवादी नेता मुक्ति प्रधान पूर्वमहान्यायधिवक्ता समेत हुन् )