ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् । संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरिएको हो ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६(३) बमोजिम प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २७ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए ।
त्यसरी प्रधानमन्त्री बनेका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानको त्यही धाराको उपधारा ४ मा छ । तर ओलीले २७ गते र अहिलेको राजनीतिक दृश्यमा कुनै फेरबदल नआएको तर्क गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।

‘संविधानको धारा ७६ को उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम मौजुदा सरकारलाई विश्वासको मत प्राप्त गर्ने दह्रो आधार नदेखिएको, वैशाख २७ को स्थितिमा तात्त्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएकाले वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई लेखेको पत्रमा उल्लेख छ, ‘त्यसैले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न अनुरोध गर्दछु ।’ ओलीको पत्र पाएको २ घण्टा पनि नहुँदै राष्ट्रपति भण्डारीले एक दिन मात्रै समय दिएर नयाँ प्रक्रियाबाट सरकार गठनका लागि आह्वान गरेकी हुन् ।