बादललाई मत नदिनु गम्भीर

नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ ।

वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको उपचुनावमा एमाले उम्मेदवार रामबहादुर थापा बादलले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको सूचनाका आधारमा बैठकले भर्त्सना गर्ने निर्णय गरेको हो ।

एमालेमा एकता प्रयास शुरु हुनु अगाडि नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए । एमालेमा एकता प्रयास शुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो । एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका छन् ।

‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता प्रदीप ज्ञवालीले भने ।