मन्त्रिपरिषदमा प्रधानमन्त्री – ‘आज मेरो ‘मुड अफ’ भएको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा ३० दिनभित्र लिनुपर्ने विश्वासको मत नलिने बरु प्रतिनिधि सभाका कुनै सदस्यलाई बहुमत दाबी गर्न दिने योजना बनाएको बताएका छन्।

बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा ओलीले विश्वासको मत लिनेतिर नलाग्ने बरु संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन गर्न आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले निराश हुँदै उक्त कुरा व्यक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले बैठकमा सर्वाेच्च अदालतले नेकपा माओवादी छोडेका ७ जना मन्त्रीहरुलाई अदालतले काम नगर्न अन्तरिम आदेश दिएपछि आफूलाई तनाव भएको बताएका थिए ‘सर्वाेच्चको आजको फैसलाले मेरो मुड अफ भएको छ’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘आज खासै केही निर्णय नगरौँ, विश्वासको मत नलिने, ७६ (५) अनुसार सरकार बनाउन दिनेबारे सोचिरा’छु।’

सर्वाेच्च अदालतले आज माओवादी त्याग गरेपछि सांसद पद गुमाएका ४ सहित अन्य तीन जनलाई काम नगर्न अन्तरिम आदेश दिएको थियो। सो आदेशलगत्तै ओली मन्त्रिपरिषद्मा रहेका ७ जनाले मन्त्रीको हैसियतमा काम गर्नबाट रोकिएका छन्। आजको बैठकमा उनीहरु सहभागी समेत भएनन्। सोही कुराले आफूलाई तनाव भएको प्रधानमन्त्रीको भनाइ रहेको ती मन्त्रीले बताए।

‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिने नलिनेबारे केही नभनी एकैपटक ७६(५) बारे सोचिरहेको बताउनुभयो’, ती मन्त्रीले थपे।
वैशाख ३० गते संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। उनले जेठभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ। वैशाख २७ गते संसदमा भएको मतदानमा ओलीले विश्वास गुमाएका थिए।

यसैबीच, सरकारले संसद् अधिवेशन आह्वानको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको ती मन्त्रीले जानकारी दिए।