मेरो भूमिका स्वतन्त्र नै रहनेछ : डा.खिमलाल देवकोटा

राष्ट्रियसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका डा. खिमलाल देवकोटाले स्वतन्त्र प्रतिनिधिका रुपमै आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।

जितपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले आफू स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएको र राष्ट्रियसभामा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।

​‘मेरो भूमिका स्वतन्त्र नै हुनेछ,’ उनले भने, ‘राष्ट्रियसभामा मलाई विजय गराउन भूमिका निर्वाह गरेका सबैको आवाज प्रतिनिधित्व गर्नेछु ।’ उनले आफूलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्र, नेपाली काँग्रेसप्रति आभार प्रकट गरे ।

उनले भने, ‘खासगरी माओवादी केन्द्र र नेपाली काँग्रेसप्रति म आभारी छु । उहाँहरुले समर्थन नगरेको भए म विजयी हुने थिइनँ ।’

आफ्नो जितलाई उनले व्यक्तिगत रुपमा आफ्नोमात्र नभइ संविधान, विधिको शासनमा आस्था राख्नेहरूको पनि जित भएको बताए । ‘नेपालमा नयाँ इतिहास कायम भएको छ ।

एउटा स्वतन्त्र व्यक्तिको उम्मेदवारीमा नेपालका प्रमुख दलहरुले प्रस्ताव र समर्थन गरेका छन्,’ उनले भने, ‘राष्ट्रियसभाको भूमिका र गरिमा पनि यसले बढाएको छ ।’

एमालेका धेरै मतदाताले आफूलाई मत दिएको भन्दै उनले उनीहरुप्रति पनि आफू आभारी रहेको बताए । ‘उहाँहरुको भोट नआएको भए पनि म जित्ने थिइनँ,’ उनले भने ।