अफ्रिकामा ‘एक्सपायर’ हजारौँ डोज कोरोनाविरुद्धको खोप जलाएर नष्ट

अफ्रिकी मुलुक मालवीले प्रयोगविहीन अवस्थामा रहँदा एक्सपायर भएका कोरोनाविरुद्धको हजारौँ डोज खोप जलाएर नष्ट गरेको आधिकारिक स्वास्थ्य निकायले जनाएको छ ।

यस कदमले नागरिकलाई सुरक्षित खोप मात्र दिइने सुनिश्चित गराएको अधिकारीहरुले बताएका हुन् । सार्वजानिक रुपमा यसरी खोप नष्ट गर्ने मालवी पहिलो अफ्रिकी मुलुक हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसअघि कुनै पनि मुलुकलाई एक्सपायर भइसकेका खोपहरु नष्ट नगर्न आग्रह गरेको थियो । तर, अहिले भने आफ्नो सुझाव बदलेको छ । मालवीमा खोपको प्रयोग एकदम सुस्त गतिमा भइरहेको थियो ।

तर, यो निर्णयले सर्वसाधारणको भरोसा बढाउने स्वास्थ्यकर्मीहरुले अपेक्षा गरेका छन् । यहाँ एक करोड ८० लाख जनसंख्यामा त्यहाँ ३४ हजार संक्रमित छन् भने एक हजार १५३ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

मालवीले मार्च २६ मा अफ्रिकन युनियनबाट एस्ट्राजेनेका खोपको एक लाख दुई हजार डोज प्राप्त गरेको थियो । यसबाहेक डब्लूएचओको कोभ्याक्स कार्यक्रममार्फत पनि तीन लाख डोज पाएकोे थियो भने भारतबाट समेत ५० हजार डोज आयात गरेको थियो । त्यसको ८० प्रतिशत प्रयोग गरिएको बताएको छ । खोप एक्सपायर हुने मिति १३ अप्रिलसम्म थियो ।

यस्तोमा सबै खोप प्रयोग गर्न पर्याप्त समय नभएको सरकारी अधिकारीहरुले बताएका छन् । यसरी उनीहरुले तीन मिनेटको प्रक्रियामा कोभिडका हजारौँ डोज खोप नष्ट गरेका हुन् ।

मालवीका प्रमुख स्वास्थ्य सचिवले बीबीसीसँग कुरा गर्दै खोपहरु नष्ट गर्नु निकै दुःखको कुरा भएको बताए । तर, अर्कोतर्फ यसले नोक्सानभन्दा फाइदा बढी गराउने उनले बताएका छन् ।

डा. चार्ल्स म्वानसाम्बो भन्छन्, “हामीसँग एक्सपायर भएका खोप छन् भन्ने खबर फैलिएपछि मानिसहरु सुई लगाउन क्लिनिक जान छाडिरहेको हामीले देख्यौँ । त्यसैले हामीले यसलाई जलाएनौँ भने सबैले हाम्रो संस्थाले एक्सपायर भएको खोपको प्रयोग गर्छ भन्ने सोच्नेछन् अनि खोप लगाएनन् भने कोभिड–१९ को उनीहरुमा भारी प्रभाव पर्न जान्छ भनेर यस्तो गरेका हौँ । ”

पर्याप्त मात्रामा खोप भएकाले त्यहाँको सरकारले देशभरका १८ वर्षमाथिका नागरिकलाई खोप लगाउन अनुरोध गर्दै आएको थियो । यसरी नागरिकहरुमा बिग्रिएको या एक्सपायर भएको सुई लगाइदिने डर रहेको सर्वेक्षणमा पनि पाइएको छ ।

त्यस्तै, यसअघि विभिन्न देशहरुमा एस्ट्राजेनेका खोप लगाइसकेपछि रगत जम्ने समस्याबारे पनि खबर गरिएको थियो । तर, सो खोपले रगत जम्ने दुर्लभ समस्या गराउनेसम्बन्धी हालसम्म कुनै प्रमाण छैन ।

स्वास्थ्यविद्हरुका अनुसार रगत जम्नेभन्दा संक्रमणको जोखिम बढी हुन्छ, जसकारण सबैलाई सकेसम्म खोप लगाउन वैज्ञानिकहरुको सुझाव छ । यसरी हाल प्रयोगमा ल्याइएको खोपको मिति भने अझै ३६ महिनासम्मको रहेको बताइएको छ ।

कोभिड–१९ को खोपसम्बन्धी वैज्ञानिकहरुमा अर्को चुनौती भनेको दीर्घकालीन रुपमा यसको प्रभावकारिता के–कस्तो हुनेछ भन्नेबारे अझै कुनै उल्लेखनीय डाटा छैन ।