को हुन् बादललाई हराउने डा. खिमलाल देवकोटा ?

नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका साझा उम्मेदवार डा.खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलालले ५०८८ मत ल्याउन सफल भए । बादलले ४०१४ ल्याएर पराजित भए ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।यसैगरी वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

उनी एमाले वरिष्ठ नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।निर्वाचन आयोगले प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ निर्धारण गरिएको थियो। जसअनुसार देवकोटाले ५ हजार ८८, थापाले ४ हजार १४ र तामाङले १३२ मतभार प्राप्त गरेका हुन्।

को हुन् देवकोटा ?

देवकोटा कास्कीबाट बारा बसाइँ उनी बाराको कोल्हवी नगरपालिकाका स्थायी बासिन्दा हुन् । देवकोटा पेशाले अधिवक्ता हुन् । मधेस आन्दोलनका क्रममा कलैयास्थित घर आगजनी भएपछि विस्थापित भएका थिए । उनी अहिले एमालेसम्बद्ध कानुन व्यवसायीहरुको संगठन पिपिएलएका केन्द्रीय सचिव छन् ।

खिमलाल राजनीतिक रुपमा पञ्चायतकालमा तत्कालीन नेकपा मालेसम्बद्ध अखिल (पाँचौं) को बारा जिल्ला कमिटीमा लामो समय काम गरेका व्यक्ति हुन् । उक्त जिल्ला कमिटीमा एकबहादुर श्रेष्ठ अध्यक्ष थिए ।अहिले उनी एमालेको खुला मोर्चाका रूपमा रहेको पेशागत महासंघमा आवद्ध छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा संघीय अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् । त्यसअघि उनले साइप्रसबाट वित्तीय अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।अध्ययनकालपछि उनी केही समय स्थानीय विकास मन्त्रालयअन्तर्गत झोलुङ्गे पुलसम्बन्धी परियोजनामा सम्बद्ध रहे ।

०७२ सालमा केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा असुरक्षित तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्नुपर्ने अवधारणा उनैले अगाडि सारेका हुन् ।

०७४ को प्रदेशसभा निर्वाचनपछि उनी बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त भए । तर, पार्टीभित्रको आन्तरिक खिचातानीका क्रममा माधव नेपाल पक्षमा लागेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले असहयोग गरेपछि राजीनामा दिए ।