आइसोलेसनबाट नर्स मञ्जुको अनुरोध : अन्धकारपछि सुनौलो विहानी आउँछ

मैले विगत आठ वर्षदेखि काठमाडौँको ग्राण्डी अस्पतालमा काम गर्ने अवसर पाएँ। समाजसेवामा मेरो बाल्यकालदेखि नै रुचि थियो। आफ्नो रुचि र रहर भएको क्षेत्रमा काम गर्न निकै उत्साह र रमाइलो हुँदो रहेछ। अस्पतालमा काम गर्दा मैले कहिल्यै पनि निद्रा, भोक र थकाइको महसुस गरिनँ।

आफ्नो ड्युटीभन्दा बाहेकको समयमा पनि म ब्लडप्रेसर जाँच्ने, सुगर चेक गर्ने, बिरामीको नाम टिपाउने, औषधि सकिएको जानकारी गराउनेजस्ता कार्यमा सदैव दौडिरहन्थेँ। मलाई यसरी काम गर्दा कहिल्यै झर्को लागेन। बरु सन्तृष्ट भैरहन्थेँ। जीवन मृत्युको दोसाँधमा छटपटाइरहेका बिरामीलाई निकै माया र हौसला दिन्थेँ। निको भइसकेपछि उनीहरू मलाई हार्दिकता प्रकट गर्दै घर फर्किन्थेँ। अस्पतालभन्दा बाहिर आफू बस्ने ठाउँको आसपासमा पनि कोही बिरामी देखेँ भने मलाई सहयोग गर्न मन लाग्थ्यो। मेरो त्यही खुसी थियो।

त्यही जिन्दगी थियो। भनिन्छ, डाक्टर भगवानको अर्को रूप हो। बिरामी निको भएर घर फर्किएको रात म ढुक्कले निदाउँथे। त्यसकारण सबैको नजरमा प्रिय र मायालु भएँ। मलाई जिन्दगीसँग कहिल्यै र कुनै गुनासो रहेन। चीनको वुहानबाट सुरु भएको कोरोना विश्व भ्रमण गर्दै नेपालमा पनि आइपुग्यो। आम जनतादेखि हामी हस्पिटलमा काम गर्ने सबै त्रासमा बाँच्यौँ। कोरोनासँग जुध्नुभन्दा अर्को कुनै विकल्प नै थिएन। कोरोनाको पहिलो लहरमा मैले आफ्नो ज्यान धरापमा राखेर पनि सबैको सेवा गर्ने अवसर पाएँ। अरूलाई दिएर बाँचेको जिन्दगी निकै सानदार हुँदो रहेछ।

ड्युटी यतिसम्म गरियो कि बाहिरी दुनियाँ कुन हो? मेरो परिवार कहाँ छन्? मेरो बालक छोरो के गर्दैछ? मेरो श्रीमानले खाना खानुभयो कि छैन? घाम कतिबेला लाग्छ जुन कति बेला अस्ताउँछ मलाई केही पनि थाहा हुँदैनथ्यो। सधैं भगवान् जस्तै ठान्ने डाक्टर र नर्सहरूलाई कोरोना भाइरस आएपछि छरछिमेकका सबैले गलत दृष्टिकोणले हेर्थे। म कोठामा जाने बेलामा छिमेकीहरूले मुन्टो बटारेर मसँग तर्किन खोज्थे। कतिले त मुखै खोलेर भन्थेँ, ‘हामीलाई पनि कोरोना सारिदिने होला?’

उनीहरूले मलाई यस्तो व्यवहार गर्थे कि मानौँ मैले कोरोना शरीरभरि बोकेर हिँडेको छु। टोलछिमेकका मान्छेले मलाई मात्र होइन मेरो घरबेटीलाई पनि नराम्रो मान्थे। मलाई त्यो घरबाट निकाल्न बारम्बार घरबेटीलाई आग्रह गर्थे। मलाई निकै नमज्जा लाग्थ्यो। मैले आफ्नो काम नभनी उनीहरूलाई पहिला गरेको सहयोगको गतिलो उपहार दिए। मेरो घरबेटी पनि भगवानजस्तै हुनुहुन्थ्यो, जसको कारणले मैले कोठा छोडेर जानु परेन। बरु उहाँले कोठाको एक महिनाको भाडासमेत छुट गरिदिनुभयो। घरबेटी आमाले कहिल्यै पनि ममाथि गलत दृष्टिकोण राख्नुभएन।

निकै दुःख र कष्ट सहेपछि नेपालमा लकडाउन हट्यो। अवस्था सामान्य बन्दै थियो। हामी पुरानै लयमा फर्कदै थियौँ। समय सोचेभन्दा फरक भैदियो। कोरोना भाइरसको सेकेन्ड भेरियन्ट नेपालमा भित्रिएसँगै अवस्था कहालीलाग्दो र दर्दनाक भैदियो।
अस्पतालमा थामिनसक्नु गरी बिरामीको भीड लाग्यो। अस्पतालमा देखिने दर्दनाक दृश्य र समाचारमा कोरोना अपडेट सुन्दा निकै डर लाग्थ्यो तर सहनुको कुनै विकल्प नै थिएन। सामान्यदेखि एमर्जेन्सी भरिभराउन भयो। बिरामी र बिरामीका आफन्तले पाइला टेक्ने ठाउँ थिएन। कति बिरामी रुन्थे, कति कराउँथे। कतिले छट्पटाउँदै प्राण त्यागेको समेत देखेँ। आफूलाई त्यो दृश्यले निकै मर्माात बनाउँथ्यो।

एकान्तमा आँसु पुछ्थेँ तर बिरामीको अगाडि सधैँ मुस्कान देखाइरहेँ। मुस्कुराउनु पनि एउटा कला नै रहेछ। मेरो घर गुल्मीको मजुवा हो। बुटवल, गुल्मी आसपासका क्षेत्रमा धेरै बिरामी आउनुभयो। मैले सबैलाई सहयोग गर्ने अवसर पाएँ। सेवा नै सबैभन्दा ठूलो धर्म रहेछ। मान्छेहरूलाई विपतको बेलामा सहयोग गर्न पाउँदा पनि आत्म सन्तृष्टि मिल्यो। धेरै बिरामीहरू पनि हाम्रो अस्पतालमा भर्ना हुन आउनुभयो। हामीले भोक, प्यास निद्रा केही पनि नभनी निरन्तर आफ्नो काममा ध्यान दियौँ। सकेसम्म कसैले पनि आफ्नो आफन्त गुमाउन नपरोस् भन्ने हाम्रो चाहना हुन्थ्यो।

एमर्जेन्सी बेडमा रहेका बिरामीको पीडा र नमिठो चित्कार सुनिन्थ्यो। आफ्नो मनमन वेदनाको भारी हुँदाहुँदै पनि हामी उहाँहरूलाई सकेसम्म उत्पेरणा दिने किसिमले सम्झाउँथ्यौँ र उहाँको आत्मबल बढाउनका लागि सहयोग गथ्र्यौँ। कति जना आँखा अगाडि छटपटाएर मरेको देखेँ। कति जना बिरामी कुरुवाले त आफ्नो बिरामीलाई भेट्नसमेत पाउनुभएन। यस्तो दृश्यले निकै छटपटी चल्थ्यो। आफ्नो मनमा जति पीडा भए पनि बिरामीहरूको आत्मबल बढाउन निकै कोसिस गथ्र्यौँ। मास्कको दुखाइ, मनको दुखाइभन्दा पनि माथि थियो। सह्यौँ, सहनुजति आनन्द केही नहुँदो रहेछ ।

काम गर्दै जाने क्रममा अस्पतालमा हामीलाई चाहिने पर्याप्त सामग्रीको अभाव भयो। हामीले आफैँले किनेर हात धोएर फेरि त्यही प्रयोग गथ्र्यौँ । आफ्नो निद्रा, भोक, दुःख, कष्ट केही पनि नभनी निरन्तर रूपमा आफ्नो काम गरिरह्यौँ। एकदिन स्वास्थ्यमा अलि समस्या देखियो। पीसीआर रिपोर्ट हस्पिटल पठाइयो। रिपोर्ट नआउँदासम्म हस्पिटलले हामीलाई आइसुलेसनमा बस्न सल्लाह दियो। रिपोर्ट आएपछि थाहा भयो मलाई पनि कोरोना लागेछ। मलाई आफ्नो त केही वास्ता थिएन। आफ्नो परिवारको निकै चिन्ता लाग्थ्यो। म भगवानसँग बारम्बार आफ्नो परिवारमा केही नहोस् भनेर कामना गरिरहन्थेँ। जति डर र चिन्ता भए पनि आफूलाई कहिल्यै पनि कमजोर र विचलित बनाइन्।

कोरोनाले आफूलाई निकै पीडा छँदै थियो, त्यसैमाथि गाउँमा बुवा बिरामी हुनुभएर थप पीडा थपियो। प्यारालाइसिसको संकेत देखिएपछि एमएआरआई गर्नका लागि उहाँलाई रातारात काठमाडौँ ल्याइयो। एमर्जेन्सीमा भर्ना गरियो। केही दिनको अस्पतालको बसाइपछि बाबा सामान्य देखिनुभयो। तर, फलोअपका लागि एक महिना काठमाडौँमा नै राख्नुपर्ने भयो। उहाँको ख्याल म आफैँले गरेको थिएँ। त्यसैकारणले होला बाबालाई पनि कोरोना संक्रमण देखियो। उहाँको आत्मबल कमजोर होला भनेर मैले उहाँलाई कारोनाको रिपोर्ट नेगेटिभ आयो भनिदिएँ। समय र परिस्थितिले झुट बोल्न पनि बाध्य गराउँदो रहेछ।

मेरो कारणले बाबालाई कोरोना हुँदा म निकै दुखी छु। आफ्नो कारणले गर्दा बाबाआमा दुःखी भएको क्षण निकै नमज्जा हुँदो रहेछ। एकान्तमा मैले निकै आँसु बगाएँ। एकान्तमा रोएर बाबा र परिवारको अगाडि सधैँ हाँसो देखाउँथेँ। बाबालाई बेलाबेलामा बेस्सरी गाह्रो हुन्थ्यो। उहाँ बारम्बार कोरोना पो हो कि भनेर शंका गर्नुहुन्छ तर उहाँको आत्मविश्वासमा कमी होला भनेर मैले यो कुरा थाहा दिएकी छैन। आठ वर्षको छोरो सधैँ ममीममी भनेर बोलाउँछ, उसको नजिक जान नपाउँदा म धेरै दुःखी हुन्छु तर पनि के गर्नु, छातीमा आगो राखेर बाँच्नुपर्दो रहेछ।

मैले धेरै बिरामीहरूको सेवा गरेँ। उनीहरूलाई खुसी बनाएँ तर आज आफैँ दुःखको भुमरीमा परेँ। हिजो मलाई देखेर खुसी हुनेहरू आज मलाई देखेर तर्केर हिँड्छन्। अहिले बाबा र म दुबै आइसोलेसनमा छौँ। लाग्छ, केही समयपछि कोरोना निको भएर सामान्य अवस्थामा फर्किने छौँ। कोरोना भाइरसलाई सहजै जित्न सकिन्छ। तपार्इंहरू सबैले आफ्नो आत्मविश्वास बलियो बनाउन अनुरोध गर्दछु। अन्धकारपछि सुनौलो विहानी अवश्य पनि आउँछ।

(मञ्जु सापकोटा, नर्स, ग्राण्डी अस्पताल)