निःशुल्क उपचार गर्ने भनेको जनमैत्री अस्पतालले विरामीसँग एक लाख १६ हजार लियो, अझै बिल थमायो

काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्प्तालले कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने भनेपनि एक लाखसम्म रकम असुलेको पाईएको छ । अस्पतालले यसअघि कोरोना संक्रमित विरामीहरुको निःशुल्क उपचार गर्ने भनेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वर्ष ६० का रामचन्द्र श्रेष्ठसँग अस्पतालले भर्ना हुनुअघि नै १६ हजार लिएको र पछि एक लाख रकम लिएको पाईएको हो । श्रेष्ठ गत बैशाख ३० गते अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका सदस्यहरुले भने निःशुल्क उपचार गर्छु भन्ने अस्पतालले प्रचारमात्रै गरेको तर व्यवहारमा त्यस्तो नभएको गुनासो पोखेका छन् । अस्पताल भर्ना हुनेबित्तिकै १६ हजार तिरेको र लगत्तै एक लाख डिपोजिट गरेको मृत्तकका साला राजु श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार अहिले अस्पतालले ७७ हजार र प्लस अरु पनि रकम तिर्नुपर्छ भनेको छ । तर, श्रेष्ठले भने बाँकी पैसा आफ्नो नाममा राखिदिन अस्पताल प्रशासनलाई आग्रह गरेको सुनाए ।