सार्वजनिक जग्गा हडपेको भन्दै मेयरले भत्काइदिए घर

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ ।

धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ । बुधबार साँझ मेयर बेचन दास सय जनाभन्दा बढीलाई लिएर वडा नम्बर ६ मा पुगे । मेयरको साथमा गएकामध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् ।

मेयरको नेतृत्वमा गएका व्यक्ति कोरोना महामारीका बेला कुनै संक्रमितका लागि औषधि बोकेर अथवा आइसोलेसन तयार गर्न गएका होइनन् । मेयरसहित उनका साथमा गएका प्रायः हरेकका हातमा लाठी थियो । लाठीसहित गएका टोलीले वडा नम्बर ६ का एक जनाको निर्माणाधीन घर तोडफोड गरेका छन् ।

मेयर नेतृत्वको समूहले सार्वजनिक जग्गा हडपेको भन्दै सुफल मण्डलले बनाउन सुरु गरेको घर भत्काएका छन् । ‘म खेततिर गएको थिएँ । घरमा आमा, श्रीमती र भाइ थिए, मण्डलले भने त्यही समयमा मेयरको नेतृत्वमा आएका व्यक्तिले घरमा रहेका व्यक्तिलाई हातपात गर्दै बनाउन सुरु गरिएको घर भत्काएका छन् ।’

उनका अनुसार मेयरको साथमा आएको जत्थाले आमा र श्रीमतीलाई हातपात गर्दै बलजफ्ती निर्माण हुँदै गरेको घर भत्काएका हुन् ।

‘धेरै होइन डेढ सय जना थियौं’

मेयर दासले सार्वजनिक जग्गा हडपेर मण्डलले घर निर्माण गरेकाले भत्काइएको स्वीकारे । मण्डलले खरीद गरेको जग्गामा डिहबार थानको सार्वजनिक जग्गा पनि मिसाएकाले त्यो बराबरको घर तोडिएको उनको दाबी छ । यो डिहबार थानका लागि मैले आफ्नै डेढ कठ्ठा जग्गा दिएको छु । तर, मण्डलले यहींको जग्गा अतिक्रमण गरेर घर बनाएपछि भत्काएका हौं, उनले भने ।

अतिक्रमण गरिएको सार्वजनिक जग्गा छाडेर घर निर्माण गर्न पटक–पटक नगरपालिकाबाट पत्राचार गरेको, अमिनलाई खटाएपनि नमानेकाले बाध्य भएर भत्काइएको उनले बताए । ‘घरको छत ढलान भइसकेपछि भत्काउन समस्या हुन्थ्यो, त्यहीं भएर अहिले नै भत्काएका हौं’ उनले भने ।

अनि, कोरोना संक्रमण तीव्र रुपमा बढेर निषेधाज्ञा लगाइएका बेला यत्रो भिड गर्नुपर्ने जरुरी के थियो ? भन्ने प्रश्नमा मेयर दासले भने, ‘हामी धेरै थिएनौं । डेढ सय जना जति थियौं । यसमध्ये चारजनाले मात्रै घर भत्काएको उनले बताए । मेयरले चारजनाले भत्काएको बताएपनि त्यहाँ उपस्थित अधिकांशले मण्डलको घर भत्काएको दृश्य क्यामेरामा कैद भएको छ ।

कसैले सार्वजनिक जग्गा अतिक्रमण गरे कानूनी उपचार हुँदाहुँदै मेयर आफ्नै नेतृत्वमा कोरानाकालमा भिड जम्मा गरेर घर भत्काएको घटनालाई स्थानीयले आलोचना गरेका छन् ।