जेठ १५ अगावै विश्वासको मत लिँदै प्रधानमन्त्री : संसदको नियमित अधिवेशन कि विशेष ?

सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन प्रयास गर्ने भएका छन् ।

बिहीवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी गरेको छ ।

‘बजेट अधिवेशन बोलाएर शुरूमा विश्वासको मतको प्रयास गर्ने कि यसअघि जस्तै १ दिनको लागि विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाउने भन्ने विषयमा छलफल चलिरहेको छ, एमाले उच्च स्रोतले भन्यो ।

मन्त्रिपरिषद् बैठकअघि बस्ने एमाले स्थायी कमिटी बैठकको सुझावका आधारमा नियमित वा विशेष अधिवेशन बोलाउने भन्ने टुंगो लाग्ने भएको छ । अल्पमतको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्दैन भन्ने कुरामा प्रधानमन्त्री ओली प्रस्ट रहेका एमालेका एक प्रभावशाली नेताले जानकारी दिए ।

सरकारका नीति तथा कार्यक्रम र बजेटअगावै विश्वासको मत लिने प्रयास भइरहेको उनले बताए । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेटअघि सरकारका नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) मा भने यसपटक छलफल नहुने पक्का भएको छ ।

संसदको अधिवेशन आह्वान गर्दा केही समयको अन्तर राख्नुपर्ने भएकाले छोटो समयको सूचना दिएर अधिवेशन बोलाउने तयारी भएको स्रोतले बतायो । सरकारका नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । पहिला संसदमा विश्वासको मत लिन प्रयास गरेर नतिजाको आधारमा सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे निर्णय हुने एमाले स्रोतले बतायो ।

गत वैशाख २७ गते प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिने प्रयास गरेपनि पार्टी भित्रबाटै असहयोग भएपछि विश्वास प्राप्त गर्न सकेका थिएनन् । एमालेका २८ सांसद विश्वासको मत दिने बैठकमा अनुपस्थित भएपछि ओलीको पक्षमा ९३ जनाले मतदान गरेका थिए ।

त्यसको ४ दिनपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । संविधानको धारा ७६(३) अनुसार बनेको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले गृहकार्य गरिरहेको उनले बताए । एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले भोट दिएमा ओलीले विश्वासको मत लिन सक्छन् । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके धारा ७६(५) अनुसारको सरकार गठनको प्रक्रिया शुरू हुन्छ ।

फेरि पनि विश्वासको मत लिन नसकेको अवस्थामा प्रतिनिधिसभा विघटन गरेर मुलुक निर्वाचनमा जानसक्ने विश्लेषणहरू भइरहेका छन् ।