निषेधाज्ञा उल्लंघन गर्ने दुई चालकलाई एक महिना कैद र सय रूपैयाँ जरिवाना

बर्दिया — निषेधाज्ञा उल्लंघन गरी अनधिकृत रुपमा सार्वजनिक बसमा यात्रु ओसारपोसार गरेको भन्दै स्थानीय प्रशासनले दुई चालकलाई एक/एक महिना कैद र जनही एक सय रुपैयाँ जरिवाना गरेको छ ।

काठमाडौं र इलामबाट यात्रु बोकेर ल्याएका ना ५ ख ४६४८ र भे १ ख २२२६ नम्बरको बसलाई प्रहरीले राजापुरबाट पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको निर्देशनमा यात्रु ओसारपोसार गर्दा संक्रमण फैलिन सक्ने भन्दै संक्रामक रोग २०२० अनुसार एक/एक महिनाको कैद र एक/एक सय रुपैयाँ जरिवाना गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

बिना अनुमति ती बसले यात्रु ओसारेको प्रहरीले जनाएको छ ।