गलवानमा दर्जनौं सैनिकको ज्यान गएको एक वर्षपछि फेरि पूर्वी लद्दाखमा भारत–चीन तनाव

भारत–चीन सीमामा फेरि तनाव बढेको छ । चीनको सेना एक पटक फेरि पूर्वी लद्दाखमा गलवान घाटी नजिकै भारतीय सीमाको निकै नजिक आएको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार यहाँ चीनको सेनाले आफ्नो क्षेत्रमा बंकर पनि बनाएको छ र किल्लाबन्दी गरेको छ । यहाँ एक वर्षअघि भारत र चीनका सैनिकबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । मारिएका चिनियाँ सैनिकबारे आधिकारिक जानकारी छैन ।

रिपोर्टका अनुसार भारतीय सेना पनि यहाँ अलर्टमा छ । भारतीय सेनाले चीनका हरेक गतिविधि निगरानी गरिरहेको बताइएको छ । रिपोर्टका अनुसार चिनियाँ सैनिक अहिलेसम्म आफ्नै क्षेत्रमा छन् तर यसलाई चिनियाँ सेनाको महत्वपूर्ण गतिविधि मानिएको छ । यसलाई यसकारण पनि महत्वपूर्ण मानिएको छ किनकि गलवान घाटीमा गतवर्ष पनि चीनको सेना यसैगरी आएको थियो ।

गत वर्ष चीनले भारतीय सीमाभित्र प्रवेश गर्ने प्रयास गरेको भारतीय सेनाले दावी गर्दै आएको छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनका कति सैनिक मारिए भन्ने प्रस्ट छैन किनकि चीनले यसबारे आधिकारिक खुलासा गरेको छैन ।

भारतले भने चीनका सैनिक ४० जनभन्दा बढी मारिएको दावी गर्ने गर्छ तर यो संख्या प्रमाणित छैन । चीनले झडपमा आफ्ना सैनिक मारिएको स्वीकार गरेको छ तर संख्या खुलाएको छैन ।

गतवर्ष गलवान घाटीमा यो खतरनाक झडप भएपछि भारत र चीनको सम्बन्ध तनावग्रस्त रह्यो । पछि यो तनाव अन्त्य गर्नको लागि भारत र चीनको सेनाबीच छलफल सुरु भएको थियो ।

कूटनैतिक र सैन्य स्तरका कैयौं चरणका वार्तापछि पेगोंग ताल क्षेत्रबाट दुवै देशका सेना पछि हटेका थिए । भारतले गोगरा, हट स्प्रिंस र देपसांगको मैदानी क्षेत्रबाट पनि चीनको सेना पछि हट्नुपर्ने भनेको छ तर यस विषयमा सहमति भइसकेको छैन ।