आईसीयू बेड खाली हुन कोही संक्रमितको मृ’त्यु या डिस्चार्ज हुनुपर्छ !

त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ६२ वर्षीय कोरोना संक्रमित पीडाले छट्पटाइरहेका छन् । बर्बराउँदै मुखको अक्सिजन मास्क हातले झट्कार्दा उनी बेडबाट खसे ।

‘ठीक हुँदै जानुभएको छ बुवा, नअत्तालिनुस्’ पीडाले अनियन्त्रित बिरामीलाई मुश्किलले बेडमा राख्दै ड्युटी नर्सले भनिन्, ‘शान्त हुनुस् त बुवा, तपाईंलाई एकैछिनमा आईसीयूमा सार्छौं ।’

इमर्जेन्सी कक्षमा सबैको ध्यान त्यतै छ । ती संक्रमित छट्पटाएको नहेर्दा पनि उनको कष्टपूर्ण आवाजले सबैको मन बिथोलिरहेको थियो । घट्दो अक्सिजन लेभल र अन्य दीर्घरोगको कारण जुनसुकै बेला जे पनि हुनसक्ने भेउ पाएकी नर्सले ती वृद्धलाई आईसीयूमा सार्नै पर्ने चिट लेखेर ड्युटी डाक्टर सुमन आचार्यलाई थमाइन् । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा जस्तो अस्पतालमा आईसीयू बेड खाली भए पो !

ती वृद्धको लागि आईसीयूको खोजी भइरहँदा इमर्जेन्सी बाहिर एक दर्जन संक्रमित आईसीयू बेडको प्रतीक्षामा थिए । अक्सिजन सपोर्टसम्म पाएका उनीहरूले त्यहाँ बस्दाबस्दै आईसीयू बेड नपाएर संक्रमित मरेको थाहा पाइरहेका थिए ।

अस्पतालको कोभिड व्यवस्थापनमा खटिएका वरिष्ठ छाती रोग विशेषज्ञ नीरज बम अनुहार कठोर बनाउँदै यथार्थ सुनाउँछन्, ‘आईसीयू बेड खाली हुन कोही संक्रमितको मृ’त्यु या डिस्चार्ज हुनुपर्छ । एकजना डिस्चार्ज या दिवंगत भए भने आईसीयूमा हाल्नैपर्ने संक्रमित पाँचभन्दा बढी हुन्छन् । स्थिति यो छ, हामी त कहिल्यै नसोचेको सकसमा छौं ।’

इमर्जेन्सीको २४ घण्टे ड्युटीमा छन् डा. सुमन आचार्य । इमर्जेन्सीका संक्रमितहरूलाई वार्डमा सारेर बाहिर पालो कुरिरहेकालाई बचाउने दौडधुपका बीच सबैसँग आत्मीय रूपमा प्रस्तुत हुन्छन्, उनी । ‘तर, बेड नै खाली नभएर कतिपय संक्रमितलाई बचाउन सकिंदैन’ उनी भन्छन्, ‘त्यसरी बिरामी मर्दा ज्यादै विरक्त लागेर आउँछ, कसलाई के भन्ने !’

कोभिड अस्पतालका स्वास्थ्यकर्मीहरूका लागि संक्रमितको मृत्यु देख्नु सामान्य दैनिकी नै भएको छ । उनीहरूले दैनिक चार–पाँच जनाको अवसान देखिरहेका छन् ।

घरीघरी भने नराम्रोसँग बिथोलिन परिरहेको डा. आचार्य बताउँछन् । ‘एउटै उमेरका दुई जना सिकिस्त छन्, तर आईसीयूमा एक बेड मात्र खाली हुन्छ’ उनी भन्छन्, ‘त्यो बेला कसलाई बचाउन पठाउने, कसलाई मर्न छाडिदिने ?’

आईसीयू नपाएर हुने हरेक संक्रमितको मृत्युले भित्रैदेखि हल्लाइदिने गरेको उनी बताउँछन् । ‘त्यस्तो मृत्युले हरेक स्वास्थ्यकर्मीलाई अपराधबोध गराउँछ’ डा. आचार्य भन्छन्, ‘के गर्ने, ज्यादै सकसमा छौं हामी त !’

एक साताअघि ३१ वर्षीय सुत्केरी कोरोना संक्रमित भएर शिक्षण अस्पताल पुगिन् । उनलाई तत्काल आईसीयू चाहिने भयो, तर त्यहाँ खाली थिएन । डा. आचार्यले अन्य अस्पतालमा आईसीयू मिलाउन धेरैलाई फोन गरे । ती महिलाको श्रीमान् र डाक्टरको पनि प्रयास विफल भयो । अन्ततः ती महिलाले संसार छाडिन् ।

कोही–कोही बिरामीसँग ज्यादै ‘अट्याचमेन्ट’ हुने र आफूले सहयोग गर्न नसक्दा धेरै सकस हुने डा. आचार्य बताउँछन् ।

घर जान नपरे पनि हुन्थ्यो…

संक्रमितको उपचारमा खटिएका कोभिड अस्पतालका हरेक स्वास्थ्यकर्मी घरपरिवार सम्झँदा झस्किन्छन् । उनीहरूले खोप लगाए पनि परिवारका सदस्यहरूका लागि त्यो ‘आकाशको फल’ बनेको छ ।

इमर्जेन्सी कक्षमा खटिइरहेकी नर्स विनिता लुइँटेल साढे दुई वर्षको आफ्नै सन्तानसँग तर्किनुपर्ने बाध्यता रहेको बताउँछिन् । आफैंबाट परिवारमा भाइरस पुग्ला कि भन्ने डरले पीरमा पार्ने गरेको अनुभव उनले सुनाइन् ।

‘अहिले जागिर छाड्न पनि सकिन्न’ उनी भन्छिन्, ‘महामारीको बेला स्वास्थ्यकर्मीले नै पेशागत धर्म त्यागेर भागे बिरामीको सेवा कसले गर्छ ?’ लुइँटेलका अनुसार संक्रमितको सबभन्दा नजिक भएर सेवा गर्ने नर्सहरू नै हुन् । सुताउने, उठाउने, औषधि–अक्सिजन दिने उनीहरू नै हुन् । आत्तिएका संक्रमितहरूले ‘ज्यान बचाइदिनु’ भन्दै हात जोड्ने गरेको नर्स लुइँटेल बताउँछिन् ।

‘आफू जस्तै मानिसहरूको अन्तिम सास फेराइको साक्षी बन्नु धेरै पीडाको काम हो’ उनी भन्छिन्, ‘निको भएर धन्यवाद दिन आउनेको अनुहारमा देखिने कृतज्ञता र खुशीले मन शान्त पार्ने हो ।’

१६ महीनाको बच्चाकी आमा वर्षा खवास पनि शिक्षण अस्पतालको इमर्जेन्सीमा खटिएकी नर्स हुन् । ड्युटी गरिरहँदा घरी–घरी बच्चालाई केही नहोस् भन्ने कामना गरिरहने उनी बताउँछिन् ।

संयुक्त परिवारमा बच्चाको हेरचाहमा अरूबाट कुनै कमी नभए पनि आमाले स्तनपान गराउनै पर्छ । ड्युटी सकेर घर पुगेपछि सबभन्दा सकस त्यही हुने खवास बताउँछिन् । ‘अस्पतालबाट घरमा कोरोना पुग्ने डर भइरहन्छ’ उनी भन्छिन्, ‘हरेक पटक दूध चुसाउनुअघि नुहाएर, ब्रस गरेर, तातोपानीको बाफ लिनुपर्छ । आफ्नै बच्चालाई छुन पनि डरमर्दो भयो ।’

नर्सहरू अनेकौं जोखिम मोलेर कोरोना संक्रमितको उपचारमा जुटेका छन् । शिक्षण अस्पतालको कोभिड वार्डको नर्सिङ इञ्चार्ज नारायणी गौतम सिकिस्त संक्रमितलाई वार्डमा राख्न नपाउँदा र मृत्यु हुँदा मुटु चिरिए पनि कठोर अभिनय गर्नुपर्ने बताउँछिन् ।

कमला श्रेष्ठ अस्पतालकी सफाइ कर्मचारी हुन् । शिक्षण अस्पतालमा उनले काम गरेको १० वर्ष भयो । उनको दिन संक्रमित ओसारपसार र सरसफाइमा बित्छ । इमर्जेन्सी र आईसीयू कार्यस्थल भएकाले शव प्याकिङ समेत गर्नुपर्छ ।

‘त्यस्तो बेला यिनलाई कोरोना नलागेको भए आफन्तहरूले नै छुन्थे, हेर्थे भन्ने सोच आउँछ’ उनी भन्छिन्, ‘उमेरदार मान्छेको शव देख्दा बिचरा उसको घरपरिवार सम्झेर आँसु खस्छ ।’

कोरोनाभाइरस नेपाल पसेदेखि नै जोखिममा काम गरिरहेकी कमलाको पारिश्रमिक १३ हजार ५०० छ । पहिलो चरणमा संक्रमित समेत भएकी उनले जोखिम भत्ता पाएकी छैनन् । तैपनि, उनले आफ्नो कर्तव्यमा आँच आउन दिएकी छैनन् ।

अस्पतालमा बेड र स्वास्थ्यकर्मीको जस्तै सफाइ कर्मचारीको पनि कमी छ । टिम सानो भएपछि कामको भार ज्यादा हुन्छ नै । कमला भन्छिन्, ‘हामीले महीनाको त्यही साढे १३ हजार सम्झेर काम गर्ने हो भने त यहाँ तुरुन्त भद्रगोल हुन्छ ।’

आमालाई दमको रोग छ । अस्पतालले आफ्ना ‘फ्रन्टलाइनर’ हरूलाई छुट्टै बस्ने व्यवस्था नगरेकाले उनी घरै जान्छिन् । मेरो कारणले आमालाई केही होला कि भन्ने ‘टेन्सन’ पनि छ’ उनी भन्छिन्, ‘ड्युटी सकेर घर जान नपरे पनि हुन्थ्यो भन्ने स्वास्थ्यकर्मी धेरै छन् ।’

देशभरका अस्पतालका ‘फ्रन्टलाइनर’ उस्तै समस्या भोग्दै खटिइरहेका छन् । जनशक्तिको अभावले दबाबमा काम गरिरहेका उनीहरूको पारिश्रमिक भने कम छ । उच्च जोखिममा काम गरे पनि भत्ता र आवास सुविधा छैन । उनीहरूले भोगिरहेका मानसिक समस्याबारे त सरकार बेखबरै छ ।

‘यति धेरै प्रेसरमा काम गरिरहेका छौं कि बोल्न थाल्यो भने भँडास पोखिएला भन्ने डर छ’ शिक्षण अस्पतालकी एक नर्स भन्छिन्, ‘बोल्ने दिन पनि आउला भनेर चूपचाप काम गरिरहेका छौं ।’