सांसद नरहेका व्यक्तिलाई मन्त्री बनाइएको विरुद्ध परेका रिटको सुनुवाइ फेरि जबराकै इजलासमा

संसद् सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाएको विरोधमा सर्वोच्च अदालतमा परेका निवेदनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फेरि आफ्नै इजलासमा राखेका छन् ।

यसअघि पनि यही विषयमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दर्ता गरेको निवेदनलाई प्रधान न्यायाधीश जबराले आफ्नै इजलासमा राखी अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए ।

उनले निवेदनमा मागदाबी नै नलिएको भन्दै मन्त्रीहरूलाई तत्काल काम नगर्नू/नगराउनू भनी आदेश दिन अस्वीकार गरेका थिए । अधिवक्ताहरू विराज थापा र कपिलदेव ढकालले दर्ता गरेका छुट्टाछुट्टै निवेदनमाथि बिहीबार जबराकै इजलासमा सुनुवाइ हुँदै छ ।