गाडी ठोक्किँदा दुईको मृ’त्यु, तीन जना घाइते

पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृ’त्यु भएको छ । तीन जना घाइते छन् । झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रंगेली नगरपालिका–३ रन्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको मृ’त्यु भएको हो ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकास उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनीता पौडेल र झापा हल्दीबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते छन् ।

उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । रोशन र विनीताको अवस्था गम्भीर रहेको उनले बताए ।

झापाबाट कानेपोखरी आउँदै गरेको मे१च १८५१ नम्बरको स्कारपिओलाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिँदा दुर्घटना भएको राईले बताए । उनले ठक्कर दिने गाडी भागेकाले पहिचान हुन नसकेको तर खोजी कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा ना२ख ९४७३ नम्बरको प्लेट बरामद भएको छ । स्करपियो विकासले चलाइरहेका थिए । राईले घाइतेहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनीहरू कानेपोखरी गाउँपालिका–२ मा रहेका बिरामी आफन्त भेट्न आउने क्रममा दुर्घटनामा परेका हुन् ।