तल गोठ, माथि मान्छे : एउटै कोठामा केको आइसोलेसन ?

डोटी पूर्वीचौकी गाउँपालिका ४ सानागाउँका महेश बिक (नाम परिवर्तन) १५ दिनदेखि घरमै होम आईसोलेसनमा छन् । वैशाख २७ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएदेखि नै उनी होम आइसोलेसनमा बसेका हुन् । मापदण्डको पालना गरेरै होम आईसोलेसनमा बसे पनि उनका परिवारका दुई सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘सावधानी त अपनाएकै थिएँ, तर पनि आमा र श्रीमतीमा संक्रमण भएछ,’ महेशले भने, ‘होम आइसोलेसनमा जति सजग हुँदा पनि सुरक्षित हुन नसकिने रहेछ ।’ उनको घरमा शौचालय एउटै छ । आँगन उही हो । भने, ‘मैले यति सावधानी अपनाउँदा अपनाउँदै त परिवारका अरु सदस्यहरूलाई संक्रमण सर्‍यो भने मापदण्डबारे खासै जानकारी नभएका र सावधानी नअपनाउनेको अवस्था त झन के होला ?’

डोटीकै आदर्श गाउँपालिका १ का मानबहादुर खड्का (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भएको १० दिन भयो । उनी पनि होम आईसोलेसनमा छन् । उनी पनि होम आइसोलेसन सुरक्षित ठान्दैनन् ।

‘आफूले जति सावधानी अपनाए पनि टोल छिमेककाहरू नजिक आईहाल्छन्,’ मानबहादुरले भने, ‘होम आइसोलेसनले नै बढी संक्रमण फैलाउँछ कि भन्ने पो डर लागिरहेको छ ।’

उनले गाउँमा रुघाखोकीका बिरामी धेरै देखिएको बताए । समयमै परीक्षण नगराउने हो भने गाउँ नै संक्रमणको जोखिममा पर्ने उनले बताए । जोरायल गाउँपालिका ३ का महिन्द्र साहु (नाम परिवर्तन) ले चारदिन अघि एण्टिजेन परीक्षण गरे । रिपोर्ट पोजिभिट आयो । आफू घरमा बस्दा संक्रमण फैलने डरल उनी एक होटेलमा आईसोलेसनमा बसेका छन् ।

‘घरमा एउटा मात्रै शौचालय छ । धारा पनि एउटै छ,’ महिन्द्रले भने, ‘आँगन, बाटो उही हुन्छ । त्यसैले घरमा आफू पनि सुरक्षित हुन र अरुलाई पनि नसरोस भनेर होटेलमा बसेको छु ।’ होटेलको एक कोठामा आफूसहित दुई जना बसिरहेको उनले बताए । दिपायल सिलगढी नगरपालिका १ का एक संक्रमित पनि सात दिनदेखि होम आइसोलेसनमा छन् ।

उनलाई चिन्ता छ आफन्ना कारण परिवार र छिमेकमा कतै संक्रमण सर्ने हो कि भन्ने । भने, ‘कोरोना संक्रमण भएको पुष्टि हुँदा पनि अस्पतालले होम आईसोलेसनमै बस भनेर पठाइदिने गरेका छन् । घरमा पानीको धारा, शौचालय, आँगन सबै एउटै हुन्छ । कसरी होम आइसोलेसनमा अरुलाई जोगाउन सकिन्छ ?’

केआईसिंह गाउँपालिका ४ का संक्रमित एक पुरुष संक्रमितलाई होम आईसोलेसनमा बस भन्नु नै गलत भएको बताउँछन् । उनले भने, ‘असुरक्षित ढंगले होम आइसोलेसनमा बस भन्नु भन्दा पनि सरकारले संक्रमितहरूका लागि होल्डिङ्ग सेन्टर र छुट्टै आइसोलेसन बनाउनेतर्फ पहल गर्नुपर्दछ ।’

भन्न त धेरै सजिलो छ, शहरका जस्ता ठूला महल गाउँमा हुँदैनन् । हाम्रा घर प्रायः तल गोठ र माथि मानिस बस्ने गरि बनाइएका छन् । साँघुरा कोठा हुन्छन् । त्यसैमा परिवारका सबै सदस्य बस्नुपर्छ, अनि के को आइसोलेसन ?

गाउँमा सहरका जस्ता ठूला घर हुँदैनन् । निजी कोठा हुँदैनन् । गाउँघरमा प्रायः घर साना हुने र एउटै कोठामा कोरोना संक्रमित र परिवारका अन्य सदस्यहरू बस्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् ।

‘भन्न त धेरै सजिलो छ, शहरका जस्ता ठूला महल हुँदैनन् हाम्रा,’ उनले भने, ‘हाम्रा घर प्रायः तल गोठ र माथि मानिस बस्नेगरी बनाइएका छन् । साँघुरा कोठा हुन्छन् । त्यसैमा परिवारका सबै सदस्य बस्नुपर्छ, अनि के को आइसोलेसन ?’

पाँच सयभन्दा बढी सक्रिय संक्रमित

डोटीमा बुधबारसम्म पाँच सय एक जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराका अनुसार डोटी जिल्ला अस्पतालको आइसोलेसनमा ६ जना र स्थानीय तहले तयार गरेका आईसोलेसन सेन्टमा आठ जना मात्रै छन् । उनले भने, ‘बाँकी चार सय ८७ जना होम आइसोलेसनमै छन् ।’ यो संख्या सक्रिय संक्रमितको कुल संख्याको ९७ प्रतिशत हो ।

भारतका विभिन्न स्थान तथा मुलुकभित्रकै अन्य जिल्लाबाट आएका व्यक्तिहरू र संक्रमितलाई होम आइसोलेसनमा बस्न लगाउँदा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको स्थानीयहरूको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांक अनुसार यस वर्ष वैशाखदेखि जेठ ३ गतेसम्म भारतका विभिन्न स्थानबाट डोटीमा दुई हजार १२३ जना घर फर्किएका छन् । देशका अन्य जिल्लाबाट घर फर्किएकाहरूको तथ्यांक कुनै पनि निकायले राखेका छैनन् । स्थानीय बासिन्दा भन्छन्, ‘बाहिरबाट आएका र कोरोना परीक्षण गरेका वा नगरेका सबै आ–आफ्नो घर गएका छन् ।’

सरोकारवाला भन्छन्: होम आइसोलेसनमा सावधानी कम

होम आइसोलेसनमा बसेका संक्रमितहरूले पर्याप्त सावधानी नअपनाउँदा वा अपनाउन नसक्दा समुदायमा समस्या बढेको पत्रकार कर्णबहादुर चन्द बताउँछन् । ‘संक्रमितहरू गाउँमा खुलेआम घुमिरहेका छन् यसले कोरोना संक्रमणको जोखिम झन् बढेको छ,’ उनले भने ।

गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायत पनि पर्याप्त सावधानी नअपनाएर होम आइसोलेसनमा बस्दा परिवार तथा समुदायमा जोखिम बढेको बताउँछन् ।