राजेन्द्र महतो भन्छन् : दलको नेता भैसकें, अब एजेन्डा नबनाऔं

जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले आफू संसदीय दलको नेता भइसकेको र संसद सचिवालयबाट त्यसको जानकारीसमेत आइसकेको बताएका छन् । जेठ ८ गते बालकुमारीमा बस्ने केन्द्रीय समितिको बैठकमा यो विषय एजेण्डा नबन्ने पनि महतोको दाबी छ ।

दलको नेतासम्बन्धी विवादबारे महतो भन्छन् ‘महन्थ ठाकुरजीले संसदीय दलले दलको नेता चयन गरेको प्रष्ट बताउनुभएको छ । तर, उहाँ (उपेन्द्र यादव) ले त्यसै फेसबुकमा निर्णय खारेज भएको भनिदिनुभयो । त्यसको अर्थ छैन । बहुमतले मान्ने र एउटा व्यक्तिले नमानेर हुन्छ ?’

विषय आगामी जेष्ठ ८ र ९ गते बस्ने केन्द्रीय कार्यकारिणी बैठकमा छलफलको एजेण्डा नबन्ने बताउँदै महतोले रातोपाटीसँग भने, ‘यो विषय कार्यकारिणी बैठकमा छलफल गर्न आवश्यक छैन । दलको नेता त्यसले अनुमोदन गर्ने विषय पनि होइन ।’

संसद सचिवालयले जसपा संसदीय दलको नेता बनाएको सूचना आफूकहाँ आइसकेको महतोले सुनाए । उनले भने, ‘सबै भइसक्यो । नहुने कुरै छैन । संसदीय दलले आफ्नो विधान पारित गरेर त्योअनुसार चुनाव गरेर मलाई संसदीय दलको नेताका रुपमा पठाएको हो ।’ तर संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पार्टीको संसदीय दलको नेता को हुने नहुने सचिवालयको सरोकारको विषय नरहेको बताए ।

उ​नले भने, ‘संसद सचिवालयबाट कसैलाई कुनै प्रकारको जानकारी गराइएको छैन, त्यो हाम्रो सरोकारको विषय नै होइन, पार्टीले संसदीय दलको नेता चयन गरेको विषय सचिवालयलाई जानकारी गराएको छ, यदि त्यसमा कुनै विवाद छ भने पार्टी आफैले मिलाउने हो । तपाई संसदीय दलको नेता हुनुभयो भनि यहाँबाट कसैलाई जानकारी पठाइएको छैन ।’

दुई दुईटा पत्र दर्ता हुनेले पार्टीमा विवाद रहेको प्रष्ट भएकाले यसको छिनोफानो सचिवालयले नभइ पार्टीले आफै मिलाउने उनले रातोपाटीलाई बताए । जसपामा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले बहुमतको बलमा एकपक्षीय रुपमा विधान र विधि विपरीत राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको हुनाले त्यो मान्य नहुने उपेन्द्र यादव पक्षले बताउँदै आएको छ ।

बैशाख २९ गते बबरमहलस्थित जसपा पार्टी कार्यालयमा बसेको महन्थ–राजेन्द्र पक्षीय संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।

मंगलबार अध्यक्षद्वय ठाकुर र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्ने तीन बुँदे सहमति भएको थियो । तर त्यसको एक घण्टा पनि नबित्दै ठाकुरले महतोलाई दलको नेता बनाएको पत्र संसद सचिवालयमा दर्ता भएको थियो ।

त्यसअघि अध्यक्ष यादवले संसद सचिवालयलाई जसपामा दलको नेता चयन नगरिएको पत्र दर्ता गराएका थिए । त्यसको काउन्टरमा महतोले अर्को पत्र दर्ता गराएका थिए ।

महतोले भने सबै प्रक्रिया पूरा गरेर संसदीय दलको नेतामा आफूलाई चयन गरिएको दाबी गरेका छन् । तर, यादव पक्षले यसलाई मानेको छैन ।

जसपाभित्र पूर्वराजपाका नेताहरु महतोलाई संसदीय दलको नेता बनाउने पूर्वसहमति भएको दाबी गर्छन् । यादव पक्षले भने त्यस्तो पूर्वसहमति नभएको दाबी गर्दै आएको छ । राजेन्द्र महतो पक्षका नेताहरुले दलका नेता महतोलाई नै बनाइनुपर्ने माग गर्दै भन्ने गरेका छन्, पार्टी एकता हुँदा महन्थ र उपेन्द्रले अध्यक्ष पाए, महतोलाई चाहिँ के ?