तेस्रो भेरियन्ट निकै संक्रामक देखियो : डा. पौडेल

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गत हप्ता कोभिड–१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विेन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बी. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बी.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार नेपालमा तेस्रो भेरियन्ट रहेको पुष्टि गरिसकेको छ । बुधबार कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए ।

‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । नेपालमा संक्रमण बढेको दर र भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ’ उनले भने ।

डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताए ।

‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारिता राम्रै देखिएको छ’ उनले भने ।

सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोभिड–१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने पौडेलले बताए ।