ओलीले जेठ १५ अघि नै विश्वासको मत लिने, मत लिन असफल भए संसद् विघटन गरेर चुनावमा जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते भन्दा अघि नै संसदमा विश्वासको मत लिनेगरि तयारी थालेका छन् । प्रधामन्त्री ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा समेत यसबारेमा मन्त्रीहरुलाई ब्रिफिङ गरिसकेका छन् ।

एक मन्त्रीले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले बजेट ल्याउनुभन्दा अघि नै संसदमा विश्वासको मत लिने आफ्नो योजना सुनाएका थिए । र, यसको लागि वातावरण पनि बनिरहेको प्रधानमन्त्रीको विश्वास थियो ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म एमालेलाई एक ढिक्का राख्न सके भने जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई विश्वासमा लिँदा सजिलै विश्वासको मत लिन सकिने योजना बनाएका छन् ।

सोहीअनुसार उनी यतिवेला जसपाका माग र मुद्दा सम्बोधनको तयारीमा जुटेका छन् । यसअघि प्रधानमन्त्री ओलीलाई सदनमा विश्वासको मत नदिई तटस्थ बसेको जसपाको ठाकुर महतो पक्ष यो पटकपनि तटस्थ बस्ने योजनामा छ ।

पार्टीका नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अब महन्थजीलाई नै प्रधानमन्त्री बनाउने तयारी छ

ठाकुरले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई भेटेरै आफ्नो खड्गो मात्रै टार्ने अनि हामीलाई बेवास्ता गर्ने काम हुन लागेको भन्दै अब सहयोग गर्न नसकिने जवाफ दिएको जसपानिकट स्रोतको दाबी छ ।

हिजोमात्रै, अध्यक्ष ठाकुरले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुत्तः विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीमाथि दबाब सिर्जना गरेका छन् । ठाकुर र यादवले अब कसैको सरकारमा पनि नजाने बरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर पाए त्यसलाई उपयोग गर्ने पनि जनाएका छन् । ठाकुर र यादवको विज्ञप्तीले प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

महन्थलाई प्रधानमन्त्री बनाउनेगरि विपक्षी गठबन्धन छलफलमा, देउवा-दाहाल सकारात्मक

उता, आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको वार्ता तथा छलफल सहमतितर्फ ठोस रुपमा अघि बढ्न नसक्नु र यता जसपाले पनि अब साथ दिन नसक्ने भनेर सार्वजनिक रुपमै वक्तव्य निकाल्नुले प्रधानमन्त्री थप दबाबमा पुगेका छन् । हुन त एमालेको आन्तरिक विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल गठन गरिएको छ ।

दलको नेताबाट महतोलाई ब्याक गराउने तयारी

कार्यदलको पहिलो बैठक हिजो बसेको थियो। तर, कार्यदलको समयसिमा आजै सकिँदैछ । हिजोका बैठकमा आचारसंहिता बनाउने निर्णय गरेको थियो । बैठक आजपनि बस्ने कार्यदलका माधव नेपाल तर्फका संयोजक भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पनि आफूनिकट नेताहरुसँगको छलफललाई तिव्रता दिएका छन् । उनले सकेसम्म जेठ १० गतेदेखि १५ गतेसम्मै विश्वासको मत लिने योजना बनाएका छन् । यदि विश्वासको मत लिन नसके तत्काल संसद विघटन गरेर चुनावमा जाने उनको रणनीति रहेको विश्वस्त स्रोतको दाबी छ ।